Below Menu
Below Menu

राष्ट्रिय ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, सहकारीलाई परिचालन गरौँः सांसद पौडेल

राष्ट्रिय ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, सहकारीलाई परिचालन गरौँः सांसद पौडेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले राष्ट्रिय ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके मात्र त्यसको प्रतिफल जनताले अनुभूति गर्न सक्ने बताएकी छन्।

प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद पौडेलले ऋणलाई केवल बोझका रूपमा हेर्ने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा राखिन्। राज्यले ऋणको प्रभावकारी उपयोग गर्न सके जनताले त्यसको प्रत्यक्ष लाभ प्राप्त गर्ने उनको भनाइ थियो।

सरकारले प्रस्ताव गरेको ४ खर्ब १० अर्ब रुपैयाँसम्म राष्ट्रिय ऋण उठाउने व्यवस्थाको समर्थन गर्दै उनले ऊर्जा, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरिन्। विशेषगरी सहकारी क्षेत्रलाई उत्पादनमूलक लगानीको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्नुपर्ने उनको जोड थियो।

नेपालभर रहेका करिब ३१ हजार सहकारी संस्थामा १ करोड ९ लाखभन्दा बढी सदस्य आबद्ध रहेको उल्लेख गर्दै पौडेलले सहकारी क्षेत्रमा पर्याप्त तरलता रहेको बताइन्। सहकारी संस्थाहरूले वार्षिक करिब ५ अर्ब रुपैयाँ कर तिर्ने गरेको उल्लेख गर्दै उनले सहकारीको वित्तीय स्रोतलाई कृषि, दुग्ध, शिक्षा र स्वास्थ्यजस्ता उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सरकारलाई आग्रह गरिन्।

सहकारी ऐन, २०७४ ले विशिष्टीकृत सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले सहकारीलाई बजार र उत्पादनबीचको महत्वपूर्ण सेतुका रूपमा उपयोग गर्नुपर्ने बताइन्। दुग्ध उद्योग तथा कृषि उद्यममा लगानी विस्तार गर्दै नेपाली महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्न सके आर्थिक गतिविधि र रोजगारी दुवै बढ्ने उनको विश्वास थियो।

पौडेलले चालु खर्च धान्न ऋण प्रयोग गर्नुको सट्टा आम्दानी र उत्पादन बढाउने आयोजनामा मात्रै ऋण परिचालन गर्नुपर्नेमा जोड दिइन्। ऋणको उपयोगबारे सार्वजनिक जानकारी, सामाजिक परीक्षण तथा पारदर्शिता सुनिश्चित गर्न सके ऋणले मुलुकको समृद्धिमा सकारात्मक योगदान पुर्याउने उनले बताइन्।

Advertisment

थप समाचार