Below Menu
Below Menu

सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ पुग्यो, लक्ष्यको ७० प्रतिशत ऋण परिचालन

सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ पुग्यो, लक्ष्यको ७० प्रतिशत ऋण परिचालन

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको आकार पौने तीन खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
 
आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित दुई खर्ब ८७ अर्ब १४ रुपैयाँ थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ८७ प्रतिशत बराबर हो । 

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत रहेको छ ।   

जेठ मसान्तसम्म सरकारले तीन खर्ब ५१ अर्ब ५४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत दुई खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ र ब्याज वापत ६७ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा जेठ मसान्तसम्ममा बढेर १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २० दशमलव ८७ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले तीन खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा ब्याज बाहेक दुई खर्ब २९ अर्ब ६० करोड बराबर ऋण तिरेको छ ।

त्यस्तै, जेठ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ८३ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ छ । गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो । 

यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा ब्याज बाहेक ५४ अर्ब ८४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ६६ अर्ब ४९ करोड तीन लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा यस अवधिमा ४ खर्ब १८ अर्ब १२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ७०.२० प्रतिशत हो । 

जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ९३.५५ र ३४.०१ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१ र १९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । जेठ मसान्तसम्ममा तीन खर्ब ५१ अर्ब ७४  करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । 

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ८५.५८ प्रतिशत बराबर हो । जिडिपीको आधारमा जेठ मसान्तसम्मको कुल ऋण सेवा खर्च ५ दशमलव ३३ प्रतिशत बराबर हो ।
 

Advertisment