विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि उपजको प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै साना किसानको व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार कृषि उपजको प्रशोधन तथा बजारीकरण गरी व्यवसाय विस्तार गर्न साना किसानको समेत पहुँच सुनिश्चित गरिनेछ। यसका लागि बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामार्फत उपलब्ध हुने कृषि कर्जामा ब्याज अनुदान प्रदान गर्न रु. ८ करोड ३८ लाख बजेट विनियोजन गरिएको छ।
सरकारले यस कार्यक्रममार्फत कृषिमा आधारित उद्यमशीलता प्रवर्द्धन, उत्पादनको मूल्य अभिवृद्धि तथा किसानलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई कृषि क्षेत्रको व्यवसायीकरणलाई टेवा पुग्ने अपेक्षा गरेको जनाएको छ। साथै, सहकारी संस्थामार्फत ग्रामीण क्षेत्रका किसानलाई कृषि वित्तमा पहुँच विस्तार गर्न समेत यस कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ।
Advertisment