Below Menu
Below Menu

भारतमा १०० प्रतिशत इथानोलबाट चल्ने गाडीलाई स्वीकृति, ६ हप्ताभित्रै नयाँ मोडेल बजारमा आउने

भारतमा १०० प्रतिशत इथानोलबाट चल्ने गाडीलाई स्वीकृति, ६ हप्ताभित्रै नयाँ मोडेल बजारमा आउने

नयाँ दिल्ली : भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ। 

केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले शनिबार नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गर्दै यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले हस्ताक्षर गरिसकेको जानकारी दिए।

गडकरीका अनुसार सरकारले गरेको यो निर्णयले भारतको पेट्रोलियम पदार्थ आयातमा निर्भरता घटाउनुका साथै यातायात क्षेत्रबाट हुने प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने छ। उनले आगामी छ हप्ताभित्रै विभिन्न अटोमोबाइल कम्पनीहरूले पूर्ण रूपमा इथेनॉलबाट चल्ने सवारी साधन भारतीय बजारमा ल्याउने तयारी गरिरहेको बताए।

उनका अनुसार टोयोटा, सुजुकी, एमजी मोटर र हुन्डाईजस्ता प्रमुख कम्पनीहरूले १०० प्रतिशत इथानोल प्रयोग गर्न सक्ने नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारी पूरा गरिसकेका छन्। यसबाट उपभोक्ताले पेट्रोलको बढ्दो मूल्यबाट राहत पाउने अपेक्षा गरिएको छ।

मन्त्री गडकरीले इथानोललाई पेट्रोलको किफायती, स्वदेशमै उत्पादन गर्न सकिने तथा वातावरणमैत्री विकल्पका रूपमा व्याख्या गरे। भारतले हाल आफ्नो आवश्यकताअनुसार ठूलो परिमाणमा कच्चा तेल विदेशबाट आयात गर्दै आएको छ । जसका कारण प्रत्येक वर्ष अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च हुने गरेको छ। इथेनॉलको व्यापक प्रयोगले यस्तो आयात खर्चमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।

इथानोल एक प्रकारको अल्कोहल हो, जुन चिनी तथा स्टार्चयुक्त पदार्थको किण्वन प्रक्रियाबाट उत्पादन गरिन्छ। यसको मुख्य स्रोत उखुको रस भए पनि मकै, आलु, कसावा, मीठो सोर्घम तथा अन्य कृषि उत्पादनहरूबाट समेत इथेनॉल उत्पादन गर्न सकिन्छ। वैज्ञानिकहरूले यसको उत्पादनलाई विभिन्न पुस्तामा वर्गीकरण गरेका छन्।

पहिलो पुस्ताको इथानोल उखु, चुकन्दर, मकै तथा अन्य खाद्यान्न स्रोतबाट उत्पादन गरिन्छ। दोस्रो पुस्ताको इथानोल भने चामलको भुस, गहुँको पराल, मकैको डाँठ, बाँस तथा काठजन्य बायोमासजस्ता कृषि अवशेषबाट तयार गरिन्छ। तेस्रो पुस्ताको जैविक इन्धन शैवालबाट उत्पादन गर्ने प्रविधि विकासको चरणमा रहेको छ।

भारत सरकारले हरित ऊर्जाको प्रवर्द्धन तथा कार्बन उत्सर्जन न्यूनीकरणलाई प्राथमिकतामा राख्दै जैविक इन्धनको प्रयोग बढाउने नीति अवलम्बन गरिरहेको छ। यसै क्रममा गत साता सरकारले ई–८५  इन्धन बजारमा ल्याएको थियो। यो इन्धनमा ८५ प्रतिशत इथानोल र १५ प्रतिशत पेट्रोलको मिश्रण हुन्छ। दिल्लीमा यसको मूल्य प्रतिलिटर ८२.१२ भारतीय रुपैयाँ तोकिएको छ, जुन सामान्य पेट्रोलको मूल्यभन्दा करिब २० रुपैयाँ सस्तो रहेको बताइएको छ।

यद्यपि, उच्च मात्राको इथानोल प्रयोग गर्न विशेष प्रकारका ‘फ्लेक्स–फ्युल’ इन्जिन भएका सवारी साधन आवश्यक पर्छन्। सामान्य पेट्रोल इन्जिन भएका गाडीमा यस्ता इन्धन प्रयोग गर्न मिल्दैन।

हाल भारतमा केही फ्लेक्स–फ्युल सवारी साधनहरू बजारमा उपलब्ध भइसकेका छन्। मारुति सुजुकीको वागनआर फ्लेक्स–फ्युल संस्करण १०० प्रतिशतसम्म इथेनॉल मिश्रण प्रयोग गर्न सक्ने पहिलो यात्रुवाहक कारमध्ये एक मानिन्छ।

त्यस्तै, हिरो मोटोकर्पले स्प्लेन्डर र एचएफ डिलक्सका फ्लेक्स–फ्युल मोडेल सार्वजनिक गरिसकेको छ, जसले ई२० देखि ई८०छ सम्मका इन्धन प्रयोग गर्न सक्छन्। यी मोटरसाइकलहरू जुलाई २०२६ देखि दिल्ली र महाराष्ट्रका केही क्षेत्रमा बिक्रीका लागि उपलब्ध हुनेछन्।

यसैगरी, सुजुकी जिक्सर एसएफ पनि उच्च इथेनॉल मिश्रित इन्धनमा चल्न सक्ने मोटरसाइकलको सूचीमा समावेश भएको छ।


 

Advertisment