काठमाडौं : पछिल्ला वर्षहरुमा फ्रन्टलाइन अस्पताल सञ्चालन गर्दै आएको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसन लिमिटेड (एनसीएचईएफ) को व्यापार र नाफामा उल्लेखनीय सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको नौ महिनामै साढे ४४ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२६ को नौ महिनामा ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । पछिल्ला पाँच वर्षमा कम्पनीको वार्षिक वृद्धिदर ९ प्रतिशत रहेको छ ।
सन् २०२५ मा कम्पनीले ४३ करोड ३३ लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२४ मा कम्पनीले २६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा ३४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी ६१ प्रतिशतले बढेको थियो । अस्पतालको ओपीडी तथा आईपीडी सेवामा बिरामीको संख्या बढेसँगै स्वास्थ्य सेवाबाट प्राप्त आम्दानीले कुल आम्दानीको करिब ७४ प्रतिशत हिस्सा ओगटेको थियो ।
चालु आवको नौ महिनाको कुल ४४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानीमा अस्पताल व्यवसायको योगदान बढेर ८४ प्रतिशत पुगेको छ । कम्पनीको व्यापारसँगै सञ्चालन नाफा पनि सुधारिएको छ ।
आर्थिक वर्ष सन् २०२५ मा २०.७९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु वर्षको नौ महिनामा बढेर २२.९१ प्रतिशत पुगेको छ ।
त्यस्तै, ब्याज भुक्तानी क्षमता २.९८ गुणा पुगेको छ । प्रवद्र्धकहरुबाट थप पुँजी लगानी गरेका कम्पनीको कुल गियरिङ अनुपात २.०६ गुणाबाट घटेर १.४१ गुणामा झरेको प्रतिवेदनमा उल्लेख छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई दीर्घकालिन कर्जाका लागि डबल बी माइनस र अल्पकालिन कर्जाका लागि एफोर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले बैैंकिङ कर्जा सुविधाका लागि कुल ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ३ अर्ब ३५ करोड ३१ ला रुपैयाँ र अल्पकालिन कर्जाका लागि ४० करोड ४९ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ ।
सन् २००६ मा स्थापना भएको नोबेल कलेज सुरुआतमा स्वास्थ्य शिक्षा, व्यवस्थापन तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालनमा केन्द्रित थियो । सन् २०११ देखि स्वास्थ्य सेवा सुरु गरेको संस्थाले २०१७ पछि २०० शय्याको अस्पताल सञ्चालनका लागि अनुमति प्राप्त गरेसँगै ‘फ्रन्टलाइन अस्पताल’ ब्रान्डमार्फत स्वास्थ्य सेवा विस्तार गरेको हो ।
हाल कम्पनीले सञ्चालन गरिरहेको २०० शय्याको अस्पताल परियोजनाको करिब ८७ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसमध्ये १०० शय्या सञ्चालनमा आइसकेका छन् भने बाँकी १०० शय्या अन्तिम चरणमा रहेका छन्।
सञ्चालनमा रहेका शय्याको औसत अकुपेन्सी दर चालु आर्थिक वर्षको नौ महिनामा करिब ४९ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको २८ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो ।
कम्पनीले प्रस्ताव गरेको थप १०० शय्याको क्यान्सर तथा अङ्कोलोजी केन्द्र प्रारम्भिक चरणमा रहेको । उक्त परियोजनाका लागि कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अघि सारेको छ । कम्पनीका प्रवर्द्धक तथा अध्यक्ष नवराज पाण्डे रहेका छन् । कम्पनीमा उनको ४०.२७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
Advertisment