Below Menu
Below Menu

जनकपुरधाममा दुई अर्बको लगानीमा पाँचतारे होटल आउँदै, हेलिप्याडदेखि क्यासिनोसम्मको सुविधा

जनकपुरधाममा दुई अर्बको लगानीमा पाँचतारे होटल आउँदै, हेलिप्याडदेखि क्यासिनोसम्मको सुविधा

काठमाडौं : जनकपुरधाममा पाँचतारे स्तरको लक्जरी होटल सञ्चालनमा आउने भएको छ। मिथिला हस्पिटालिटी प्रालिले करिब दुई अर्ब रुपैयाँको लगानीमा १२० कोठासहितको अत्याधुनिक होटल निर्माण गरिरहेको हो । 

परियोजनाको कुल लागत एक अर्ब ९९ करोड ९३ लाख रुपैयाँ रहनेछ। परियोजना ८०ः२० को ऋण–इक्विटी संरचनामा अघि बढाइएको छ । जसअन्तर्गत ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत स्वपुँजी लगानी रहनेछ। 

हाल परियोजना प्रारम्भिक निर्माण चरणमा प्रवेश गरिसकेको छ। जग्गा अधिग्रहण प्रक्रिया जारी छ भने आवश्यक बैंक ऋण व्यवस्थापन अन्तिम चरणमा पुगेको बताइएको छ।

कम्पनीले दीर्घकालीन बैंक सुविधाका लागि एक अर्ब ६० करोड रुपैयाँ र अल्पकालीन सुविधाका लागि ५ करोड रुपैयाँ गरी कुल एक अर्ब ६५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ। रेटिङ एजेन्सीले कम्पनीलाई दीर्घकालीनतर्फ ‘बीबी माइनस’ र अल्पकालीनतर्फ ‘एफोर’ रेटिङ प्रदान गरेको छ।

जनकपुरधाममा निर्माणाधीन यो परियोजना १ लाख २० हजार वर्गफुट क्षेत्रफलमा फैलिनेछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण जानकी मन्दिर नजिकै अवस्थित भएकाले होटलले धार्मिक पर्यटन, विवाह पर्यटन र व्यावसायिक यात्रुहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत ब्यान्क्वेट हल, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड, स्पा लगायतका उच्चस्तरीय सुविधा रहनेछन्। मिथिला हस्पिटालिटी २०२६ मा दर्ता भएको कम्पनी हो । कम्पनीको नेतृत्व रामेश्वर शाहले गरिरहेका छन् । उनी टिएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि हुन्। 

होटल तथा आउटसोर्सिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका शाहले यसअघि चितवनस्थित ‘रोयल ट्युलिप’ रिसोर्टमार्फत हस्पिटालिटी क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

त्यस्तै, होटलमा पूर्व बैंकर ज्ञानेन्द्र ढुंगाना पनि परियोजनाको नेतृत्व तहमा संलग्न छन् भने होटलमा काजी लामा, सुदीपकुमार चौधरी र उदयकान्त झा लगायत अन्य व्यवसायीहरूको समेत लगानी रहेको छ । 

कम्पनीले लुभ्र होटल्स समूहअन्तर्गत सरोवर होटल्स प्रालिसँग व्यवस्थापन सम्झौता गर्ने तयारी गरेको छ। सम्झौता भएमा होटल ‘रोयल ट्युलिप’ ब्रान्डअन्तर्गत सञ्चालनमा आउनेछ।

निर्माण सम्पन्न भएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने अप्रत्यक्ष रूपमा पनि उल्लेख्य रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। परियोजना ३ वर्षभित्र सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

Advertisment

थप समाचार