काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको बताएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु।’औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाएको उनले बताए ।
यसका साथै सरकारले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । हाल ३६० वस्तुमा लागी आएको अन्तःशुल्क खारेज गरेको अर्थमन्त्रीले बताए । त्यस्तै आगामी आवको बजेट मार्फत भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको छ ।
प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अश्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था गरेको छ ।
सूचिकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको अर्थमन्त्रीले बताए । डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने बजेटमा उल्लेख छ ।
वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लट्री जस्ता आकर्षक कार्यक्रम सुरु गरिने बजेटमा उल्लेख छ ।
Advertisment