काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे संयुक्त बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्दैछन् ।
नेपालको संविधान २०७२ मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्न लागिएको हो ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरेको छ ।
बजेटमा सातै प्रदेशमा खेलकुद पूर्वाधार र गतिविधिलाई प्राथमिकता दिइने, वनजंगल तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत आम्दानी वृद्धि गर्ने योजना समावेश हुने अपेक्षा गरिएको छ।
यस्तै, सरकारी कर्मचारीको तलब वृद्धि, धुमपान तथा मदिराजन्य पदार्थमा कर बढाउने तथा सवारी साधनका क्षेत्रमा उपभोक्तामैत्री र उत्साहजनक व्यवस्था ल्याइने सम्भावना रहेको स्रोतले जनाएको छ।
आर्थिक सुस्तता, राजस्व संकलनको चुनौती र विकास खर्चको प्रभावकारिताबीच आउने यस वर्षको बजेटलाई सरकारको आर्थिक पुनरुत्थान रणनीतिको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।
Advertisment