Below Menu
Below Menu

सहकारी पीडितको ४७ अर्ब मागदाबीमध्ये दुई अर्ब ५४ करोड मात्रै भुक्तानी

सहकारी पीडितको ४७ अर्ब मागदाबीमध्ये दुई अर्ब ५४ करोड मात्रै भुक्तानी

काठमाडौं : समस्याग्रस्त सहकारीका पीडितहरुलाई साढे दुई अर्ब रुपैयाँ भुक्तानी भएको छ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार हालसम्म ३ हजार ६८८ दावीकर्तालाई दुई अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको हो ।  

हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताहरूको ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ मागदाबी दर्ता भएकोमा उक्त रकम बराबरको दाबी भुक्तान गरिएको हो । साथै चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७ सय ६३ दावीकर्तालाई १२ करोड २३ लाख रुपैयाँ रकम फिर्ता गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये ३ संस्था राफसाफ भइसकेका छन् । बाँकी २० समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

चालु आवको फागुनसम्म सहकारी संस्थाको सङ्ख्या ३२ हजार ३ सय २५ रहेको छ । यस अवधिसम्म शेयर सदस्य सङ्ख्या एक करोड १ लाख ६० हजार ९ सय ६३ र शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भई ९ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । फागुनसम्म सहकारी क्षेत्रमा ८२ हजार २ सय १६ प्रत्यक्ष रोजगार रहेका छन्। 

सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा २०८१ असारसम्म १८ हजार ८ सय ९७ सहकारी संस्था आबद्ध भएकोमा चालु आवको फागुनसम्ममा यस्तो सङ्ख्या १९ हजार ९ सय ३ पुगेको छ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ । यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ तथा नियामकीय मापदण्ड, २०८२ (पहिलो संशोधन) जारी भएको छ ।


 

Advertisment

थप समाचार