Below Menu
Below Menu

भरतपुरमा ६८ करोडको लगानीमा खाद्य तेल उद्योग आउँदै, दैनिक २०० टन उत्पादन क्षमता

भरतपुरमा ६८ करोडको लगानीमा खाद्य तेल उद्योग आउँदै, दैनिक २०० टन उत्पादन क्षमता

काठमाडौं : चितवनको भरतपुरमा ६८ करोड रुपैयाँ लगानीमा आधुनिक खाद्य तेल प्रशोधन उद्योग निर्माण हुने भएको छ। निजी क्षेत्रको कम्पनी रोयल रिफाइनरी प्रालिले दैनिक २०० टन उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न लागेको हो। 

उद्योग सञ्चालनमा आएपछि सोयाबिन, सूर्यमुखी तथा तोरीलगायत विभिन्न खाद्य तेल उत्पादन तथा प्रशोधन गरिनेछ। कम्पनीले उद्योग निर्माणका लागि ६३ प्रतिशत ऋण र ३७ प्रतिशत स्वपुँजी रहने गरी लगानी संरचना तयार गरेको छ। 

कुल ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा करिब ४३ करोड रुपैयाँ बैंक ऋण र २५ करोड रुपैयाँ संस्थापक लगानी रहनेछ। कम्पनीका अनुसार हाल बैंक ऋण व्यवस्थापनको प्रक्रिया जारी छ भने उद्योग पूर्वाधार निर्माण प्रारम्भिक चरणमा पुगेको छ।

खाद्य तेल प्रशोधन उद्योग निर्माण गरिरहेको रोयल रिफाइनरी प्रालिलाई केयर रेटिङ नेपालले प्रारम्भिक क्रेडिट रेटिङ प्रदान गरेको छ। कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा तर्फ ‘बीबी माइनस’ तथा अल्पकालीन सुविधा तर्फ ‘एफोर’ रेटिङ दिइएको हो। 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि करिब एक अर्ब ४३ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ४३ करोड रुपैयाँ, अल्पकािलन कर्जाका लागि ५० करोड र दीर्घकालिन र अल्पकािलन दुवैका लागि ५० करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 

रोयल रिफाइनरी प्रालि १७ मार्च २०२६ मा स्थापना गरिएको निजी क्षेत्रको कम्पनी हो। कम्पनीका सञ्चालक प्रमिल न्यौपाने रहेका छन्। न्यौपाने परिवार विगत चार दशकदेखि चामल उद्योग व्यवसायमा सक्रिय रहँदै आएको छ। उनीहरूले रोयल राइस मिल सञ्चालन गर्दै आएका छन् भने होटल तथा सेवा क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्।

उद्योग भारत–नेपाल सीमासँग तुलनात्मक रूपमा नजिक भएकाले कच्चा पदार्थ आयात र प्रशोधित तेल निर्यातमा ढुवानी खर्च कम हुने अपेक्षा गरिएको छ। कम्पनीले भारतीय बन्दरगाहमार्फत कच्चा खाद्य तेल आयात गरी नेपालमा प्रशोधन गरेर पुनः भारत निर्यात गर्ने रणनीति बनाएको छ।

विशेषगरी दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारतले दिएको भन्सार सहुलियतका कारण पछिल्ला वर्षहरूमा नेपाली खाद्य तेल उद्योगको निर्यात उल्लेखनीय रूपमा बढेको छ। नेपालबाट प्रशोधित सोयाबिन तेल, पाम आयल तथा वनस्पति घिउ भारत निर्यात हुँदै आएको छ। 

भारतको भन्सार नीतिमा आएको परिवर्तनपछि नेपाली उद्योगहरूले पुनः निर्यातको अवसर पाएका कारण यस क्षेत्रमा लगानी आकर्षण बढ्दै गएको छ । चितवन स्वयं पनि तोरी उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ। स्थानीय स्तरमै केही कच्चा पदार्थ उपलब्ध हुन सक्ने तथा देशको मध्यभागमा अवस्थिति भएकाले बजार पहुँच सहज हुने विश्वास कम्पनीको छ।
 

Advertisment

थप समाचार