Below Menu
Below Menu

जेठ १६ देखि निजी अस्पतालमा स्वास्थ्य बीमाको ओपिडी सेवा बन्द, आकस्मिक मात्र सुचारु

जेठ १६ देखि निजी अस्पतालमा स्वास्थ्य बीमाको ओपिडी सेवा बन्द, आकस्मिक मात्र सुचारु

काठमाडौं : निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक सेवा बाहेकका अन्य सबै स्वास्थ्य बीमा सेवा स्थगित गरिएका छन्। स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो।

स्वास्थ्य बीमा बोर्डको जेठ ११ गते गरेको निर्णयअनुसार सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा अब आकस्मिक सेवा मात्रै सञ्चालन हुनेछन्। बोर्डले जारी गरेको सूचनाअनुसार उक्त निर्णय जेठ १६ गतेदेखि लागू हुने भएको छ।

बोर्डद्वारा जारी सूचनामा स्वास्थ्य बीमा बोर्डको वित्तीय अवस्था कमजोर बन्दै गएकाले अर्को व्यवस्था नभएसम्म निजी स्वास्थ्य संस्थाबाट दिइने नियमित स्वास्थ्य बीमा सेवा स्थगित गरिएको उल्लेख छ।

यस निर्णयसँगै अब बीमा सुविधा लिँदै आएका सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकहरूमा नियमित उपचार, परीक्षण, परामर्श तथा अन्य सेवा बीमा मार्फत सहज रूपमा पाउन नसक्ने भएका छन्। आकस्मिक अवस्थाका बिरामीले भने बीमा सुविधा अन्तर्गत सेवा पाउने व्यवस्था यथावत राखिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारले विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्थामार्फत नागरिकलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउँदै आएको थियो। तर पछिल्लो समय दाबी भुक्तानीमा ढिलाइ, अस्पतालहरूको बक्यौता रकम वृद्धि तथा बोर्डको वित्तीय भार बढ्दै गएपछि कार्यक्रम सञ्चालनमा चुनौती देखिएको छ।

निजी अस्पतालहरूले लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। कतिपय अस्पतालले यसअघि नै बीमामार्फत सेवा सीमित गर्ने चेतावनी दिएका थिए।  

Advertisment

थप समाचार