काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार ३ गते बुधबार आठौं विशेष साधारणसभा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
उक्त सभा सो दिन बिहान ९ बजे बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बस्नेछ । सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले अग्राधिकार शेयर जारी गर्नका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने, बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
यस्तै सभाले समूह ‘क’ का संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ।
सभा प्रयोजनका लागि बैंकले जेठ २६ गते एकदिनका लागि बूक क्लोज गर्नेछ। जसअनुसार जेठ २५ गतेसम्म कायम शेयरधनीहरुले उक्त सभामा भाग लिन पाउनेछन् ।
Advertisment