Below Menu
Below Menu

बजेट छोटो र बाध्यकारी हुनुपर्छ, मध्यावधिमा कटौती गर्ने अभ्यास बन्द गरौँः लिमा अधिकारी

बजेट छोटो र बाध्यकारी हुनुपर्छ, मध्यावधिमा कटौती गर्ने अभ्यास बन्द गरौँः लिमा अधिकारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले ठूलो बजेट ल्याएर मध्यावधि समीक्षामा बजेट कटौती गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताएकी छिन् । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् । 

उनले विगत १० वर्षदेखि विनियोजित र वास्तविक बजेटबीच औसत १५.६ प्रतिशत अन्तर रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने तथा परिणाममुखी आर्थिक रूपान्तरणको आधार तयार गर्ने खालको हुनुपर्ने बताइन् । 

उनले बजेट छोटो, सटिक, समयबद्ध, नतिजामुखी र बाध्यकारी हुनुपर्नेमा जोड दिइन्। उनले निजी क्षेत्रको मनोबल पुनर्जागृत गर्ने र विश्वको बदलिँदो भू–राजनीतिक अवस्थालाई समेत सम्बोधन गर्न सक्ने दूरदर्शी बजेट आवश्यक रहेको बताइन्।

सांसद अधिकारीले गत वैशाख १० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमतले सामान्य आर्थिक सुधारभन्दा पनि रूपान्तरणकारी आर्थिक परिवर्तनको अपेक्षा गरेको उल्लेख गर्दै अहिले राजनीतिक मात्र नभई आर्थिक ‘प्याराडाइम सिफ्ट’ को आवश्यकता रहेको बताइन्।

उनले विनियोजन विधेयकमार्फत सुशासनको लाभांश, उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी तथा उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा श्रमशक्तिको सुदृढीकरणजस्ता विषय समेटिएकोमा स्वागत गर्दै अर्थमन्त्रीलाई धन्यवाद दिइन्।

राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन सुस्त भएको भन्दै उनले ती आयोजनालाई पुनर्परिभाषित गरी सीमित रणनीतिक परियोजनामा केन्द्रित गर्नुपर्ने र समयमै सम्पन्न गर्न ‘सनसेट ल’ लागू गर्न सुझाव दिइन्।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै उनले चामल, दाल, दुग्धजन्य वस्तु, माछा, मासु, तरकारी र फलफूलजस्ता आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरताको स्पष्ट समयसीमा तोक्नुपर्ने धारणा राखिन्।

साथै कृषि उत्पादनलाई राष्ट्रिय खाद्य सुरक्षासँग जोड्दै एग्रो पुलिङ, कृषि उत्कृष्टता केन्द्र, सिजनल ट्यारिफ, कृषि पर्यटन, रासायनिक मलको सहज आपूर्ति र ग्रीन युरियाजस्ता विकल्पलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

बेरोजगारी समाधानका लागि उत्पादनमूलक उद्योग विस्तार अपरिहार्य रहेको बताउँदै उनले विशेष आर्थिक क्षेत्रलाई ‘प्लग एन्ड प्ले’ औद्योगिक प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने बताइन्।

ज्येष्ठ नागरिकका सवालमा उनले सामाजिक सुरक्षा भत्ता मात्र पर्याप्त नभएको उल्लेख गर्दै शतप्रतिशत स्वास्थ्य बीमा, अनुभव र सीपको उपयोग तथा जीवनस्तर सुधारका कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।

उनले ज्येष्ठ नागरिकलाई नेपालको ‘सफ्ट पावर’ को रूपमा व्याख्या गर्दै कला, संस्कृति, पर्यटन, योग, ध्यान, वेलनेस र कृषि पर्यटनमा उनीहरूको अनुभव उपयोग गर्नुपर्ने बताइन्।

सांसद अधिकारीले आगामी बजेट वितरणमुखी नभई रूपान्तरणमुखी हुनुपर्ने बताउँदै जनताले दिएको विश्वासलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने निर्णायक दस्तावेजका रूपमा बजेट आउनुपर्ने धारणा व्यक्त गरिन्।

Advertisment

थप समाचार