काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपाली नागरिकले वैध स्रोतबाट प्राप्त परिवर्त्य विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको रकमसम्म नगदमा राख्न सक्ने जनाएको छ।
राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत परिपत्र २०८२ अन्तर्गतको इ.प्रा परिपत्र ९÷२०८२ अनुसार विदेशमा रोजगारी, व्यवसाय, विदेश भ्रमणका लागि प्राप्त सटही सुविधा वा अन्य वैध माध्यमबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि उक्त सीमासम्म नगदमा राख्न पाइने व्यवस्था गरिएको हो।
राष्ट्र बैंकले यस्तो नगद विदेशी मुद्रा विभिन्न पटक प्राप्त भए पनि कुल मौज्दात अमेरिकी डलर १,५०० वा सो बराबरको सीमा नाघ्न नहुने स्पष्ट पारेको छ। यदि कुनै नेपाली नागरिकले विदेशबाट फर्कँदा वा नेपालभित्र प्राप्त गरेको परिवर्त्य विदेशी मुद्रा तोकिएको सीमाभन्दा बढी भएमा, त्यस्तो रकम ३५ दिनभित्र सटही गर्नुपर्ने वा नेपालस्थित बैंकमा परिवर्त्य विदेशी मुद्राको खाता खोली जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।
विदेशी विनिमय कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।
Advertisment