काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सवा ४५ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार बैशाख मसान्तसम्म ७२८ परियोजनाका लागि ४५ अर्ब ३२ करोड १६ लाख तीन हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ४४ करोड ६० लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा ५७६ परियोजनाको लागि ५७ अर्ब ६ करोड ७६ लाख ७३ हजार रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
यसअवधिमा ५३३ परियोजनामा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड ७३ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट १९५ परियोजनामा ३९ अर्ब ५५ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
चालु आवको बैशाखमा मात्रै ११३ परियोजनाका लागि ३ अर्ब ५२ करोड ३० लाख २२ हजार रुपैयाँ बराबरको लगनाी प्रस्ताव आएको छ । बैशाखसम्ममा दर्ता भएका उद्योगमा २३ हजार ५३० जनाले रोजगारी पाउने भएका छन् । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ७११ वटा, मझौला उद्योग आठ र ठूला उद्योग नौ वटा रहेका छन् ।
विभाग अनुसार बैशाखसम्ममा कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख र उत्पादन मुलुक क्षेत्रका ४२ परियोजनामा दुई अर्ब ७० करोड ६६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
त्यस्तै, ऊर्जा सम्बन्धी दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार, सेवामुलक क्षेत्रका ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख र सुचना प्रविधिका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत साढे १७ रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट १७ अर्ब ७९ करोड ५३ लाख १५ हजार रुपैयाँ लाभांश लगेका हुन् ।
यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ५ अर्ब ९ करोड ७३ लाख १२ हजार, ११ लाख ७९ हजार अमेरिकी डलर र भारुमा थप ३४ लाख ९१ हजार रुपैयाँ रोयल्टी लगेका हुन् ।
Advertisment