काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
गत बैशाख ३० गते ४० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि ४५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।
बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार १२ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार बैंकिङ प्रणालीमा ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमा वाणिज्य बैंकहरुमा ७१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा सात खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ ।
Advertisment