काठमाडौं : भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो ।
यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ । भारत सरकारले आन्तरिक बजारमा चिनीको पर्याप्त आपूर्ति कायम राख्न र मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।
यद्यपि, युरोपेली संघ र अमेरिकातर्फ तोकिएको कोटाअन्तर्गत हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ । साथै, अग्रिम अनुमति योजना अन्तर्गत हुने निर्यात विद्यमान व्यवस्था अनुसार जारी रहने उल्लेख गरिएको छ । सरकारले यो निर्णय तत्काल लागू भएको स्पष्ट पारेको छ ।
Advertisment