Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था सुधारिँदै, नाफासँगै पूँजी पर्याप्तता बढ्यो

राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था सुधारिँदै, नाफासँगै पूँजी पर्याप्तता बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक विवरणअनुसार बैंकको समग्र वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा थप सुदृढ बनेको देखिको छ।

सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा बैंक ७१ लाख २२ हजार रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ११ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

सहकारी संस्थालाई प्रदान गरिएको कर्जा तथा सापटमा देखिएको कर्जा नोक्सानी उल्लेखनीय रूपमा घटेकाले बैंकको नाफा सुधार भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले बताए।

बैंकले कर्जा तथा अन्य सम्भावित नोक्सानीको जोखिम व्यवस्थापनका लागि चालु आवको तेस्रो त्रैमाससम्म २९ करोड ८५ लाख ५२ हजार रुपैयाँ व्यवस्था गरेको छ । गत वर्ष सोही शीर्षकमा ७४ करोड ३ लाख रुपैयाँ छुट्याइएको थियो ।

बैंकको खुद सञ्चालन आम्दानी ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात ४.४२ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १.८६ प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५६ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब १ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ संस्थागत पुँजी रहेको बैंकको कुल सम्पत्ति ५२ अर्ब २५ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सहकारी तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तार गरेको जनाएको छ । सञ्चालन मुनाफा पनि अघिल्लो अवधिको तुलनामा सुधारिएको देखिएको छ ।

वित्तीय विवरणअनुसार बैंकको जगेडा कोष तथा पूँजी आधार थप मजबुत बनेको छ । बैंकले डिजिटल बैंकिङ, सदस्य सेवा विस्तार तथा सहकारीमैत्री वित्तीय योजनामार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

बैंक व्यवस्थापनका अनुसार ग्रामीण तथा सहकारी क्षेत्रको आर्थिक गतिविधि सशक्त बनाउन आगामी वर्ष थप लगानी विस्तार गर्ने तयारी गरिएको छ । सकारात्मक वित्तीय सूचकहरूले सहकारी बैंकिङ क्षेत्रमा राष्ट्रिय सहकारी बैंकको उपस्थिति थप मजबुत बन्दै गएको विश्लेषण गरिएको छ।

Advertisment

थप समाचार