काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९८ करोड ७७ लाखबाट बढेर एक अर्ब एक करोड छ लाख रुपैयाँ पुगेको छ। जसका कारण नाफा बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि गत वर्ष ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब १७ करोड८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबाट बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ।
चैतमसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ३९.१८ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ५ अर्ब एक करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमाकोषको आकार पनि ४२.११ प्रतिशतले बढेको छ । गत वर्ष ११ अर्ब ८४ करोड ३४ लाख रहेको जीवन बीमाकोषको आकार १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष २९ करोड ९५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५२ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड २ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशनको खर्च पनि बढेको छ । चैत मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा ४३ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ५९ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको नाफासँगै पनि वार्षिक प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्षको चैतसम्म ९.७७ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी बढेर ९.८१रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४५.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ।
Advertisment