काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ ले सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।
पदमुक्त हुने पदाधिकारीहरुमा सहकारी ऐन, २०७४ को दफा १०३ग (१) को खण्ड (क), (घ) र (ङ) बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू र दफा १०५ (२) का खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू रहेका छन्।
पदमुक्त हुनेमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश प्रसाद चौलागाई र चार्टड एकाउन्टेन्ट महेश खनाल रहेका छन् ।
त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र चार जना सदस्यहरु पदमुक्त हुनेछन् । समितिका अध्यक्ष डिल्लिराज आचार्य, सदस्यहरु मधुकर राना, डा. नवराज सिम्खडा, रोशन बहादुर शाक्य, कुल प्रसाद न्यौपाने पदमुक्त हुनेछन्।
यद्यपी अध्यादेशमा दफा १०५ (२) का खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू पदमुक्त हुने भनिए पनि तीन नियुक्ती भने वर्तमान सरकारले गरेका थिए।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज आचार्य र द्वय सदस्य डा. नवराज सिम्खडा र रोशन बहादुर शाक्यको नियुक्त वर्तमान सरकारले गरेको थियो । तीन जनाको नियुक्तीमा के हुन्छ भन्ने विषयमा प्रष्ट छैन।
Advertisment