Below Menu
Below Menu

बीमा सर्भेयरका लागि नयाँ निर्देशन जारी, झूटो प्रतिवेदन बुझाए इजाजतपत्र नै खारेज हुने

बीमा सर्भेयरका लागि नयाँ निर्देशन जारी, झूटो प्रतिवेदन बुझाए इजाजतपत्र नै खारेज हुने

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ। प्राधिकरणले बीमा सर्भेयरको दर्ता, इजाजत, नवीकरण, कार्यक्षेत्र, आचारसंहिता र अनुगमनलाई व्यवस्थित गर्न नयाँ सर्कुलर जारी गरेको हो । 

नयाँ निर्देशनअनुसार अब बीमा सर्भेयरहरूलाई उनीहरूको विशेषज्ञता, कार्य प्रकृति, शैक्षिक योग्यता, व्यावसायिक दक्षता, तालिम र अनुभवका आधारमा वर्गीकरण गरिनेछ। सर्भेयर बन्न इच्छुक व्यक्तिले प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेपछि निवेदन दिन सक्नेछन् । निवेदन स्वीकृत भएमा सात दिनभित्र इजाजतपत्र प्रदान गरिनेछ। 

यद्यपि यसअघि नै इजाजत प्राप्त सर्भेयरहरूलाई पुनः परीक्षा दिनु नपर्ने व्यवस्था गरिएको छ। इजाजतपत्र निश्चित अवधिका लागि मात्र वैध हुने भएकाले समयमै नवीकरण गर्नुपर्नेछ।

प्राधिकरणले सर्भेयरका लागि अयोग्यताको मापदण्ड पनि स्पष्ट पारेको छ। कालोसूचीबाट फुकुवा भएको एक वर्ष पूरा नभएको व्यक्ति, सम्बन्धित बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता, बीमकसँग वित्तीय स्वार्थ राख्ने व्यक्ति, वा कर दायित्व पूरा नगरेको व्यक्ति सर्भेयरका रूपमा अयोग्य ठहरिनेछन्। 

साथै व्यक्तिगत सर्भेयरले पाँचभन्दा बढी र संस्थागत सर्भेयरले दसभन्दा बढी सर्भे प्रतिवेदन बाँकी राखेको अवस्थामा सोही व्यक्ति वा संस्थालाई नयाँ नियुक्ति दिन पाइने छैन। यसले ढिलासुस्ती कम गरी दाबी मूल्यांकन प्रक्रियालाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सर्भेयरले क्षतिको मूल्यांकन निष्पक्ष र न्यायोचित ढंगले गर्नुपर्नेछ। वैज्ञानिक मूल्यांकन, तथ्य, प्रमाण र विश्लेषणका आधारमा प्रतिवेदन तयार गर्नुपर्नेछ। बीमितसँग आवश्यक कागजात एकमुष्ठ रूपमा माग गर्नुपर्ने, अपुग कागजातको जानकारी बीमकलाई दिनुपर्ने, तथा सर्भे अघि बीमितसँग कुनै स्वार्थ सम्बन्ध नरहेको घोषणा गर्नुपर्ने प्रावधान राखिएको छ। 

साथै, सर्भेयर नियुक्तिका नाममा मात्र रोष्टर खडा गर्ने प्रवृत्तिलाई रोक्न पनि स्पष्ट व्यवस्था गरिएको छ। नयाँ आचारसंहिताले पेशागत स्वतन्त्रता, गोपनीयता र नैतिकतालाई केन्द्रमा राखेको छ। सर्भेयरले कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह वा बाह्य दबाबमा नपरी यथार्थपरक प्रतिवेदन तयार गर्नुपर्नेछ। 

झूटो वा भ्रामक प्रतिवेदन दिन नपाइने, अनुचित आर्थिक वा व्यक्तिगत सम्बन्ध राख्न नहुने, तथा बीमकको आधारभूत शेयर स्वामित्व लिन नपाइने उल्लेख गरिएको छ। 

आफ्नै, एकाघरका सदस्य, नातेदार वा स्वार्थ जोडिएका व्यक्तिको क्षति मूल्यांकन गर्न निषेध गरिएको छ। विवाद उत्पन्न भएमा सम्बन्धित सबै पक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।

निर्देशन उल्लंघन गर्ने, गलत प्रतिवेदन दिने, आचारसंहिता पालना नगर्ने वा पेशागत दुराचारमा संलग्न सर्भेयरमाथि चेतावनी, निलम्बन, इजाजतपत्र रद्ददेखि अन्य प्रशासनिक कारबाहीसम्म हुन सक्नेछ। यसले पेशागत अनुशासन र जवाफदेहिता दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
 

https://drive.google.com/file/d/1DEDaaYHXDLeJPwuyNdbuLqEpx9Tl1374/view

Advertisment

थप समाचार