Below Menu
Below Menu

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिकः तीन करोडको जग्गा, २० तोला सुन

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिकः तीन करोडको जग्गा, २० तोला सुन

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ ।

विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ । उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण भएको जनाइएको छ ।

यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

परिवारतर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको देखिएको छ । साथै आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन् । उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको विवरणमा देखिएको छ । साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ ।

सरकारले उनलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

Advertisment

थप समाचार