काठमाडौं : चालु आर्थिक वर्षक नौ महिनामा मुलुकको सार्वजनिक ऋण साढे दुई खर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण नौ महिनामै दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँले बढेको हो। हालको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४८.०४ प्रतिशत बराबर पुगेको छ।
कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२. ६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७. ३१ प्रतिशत रहेको छ। चैत मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा दुई खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ खर्च गरिसकेको छ। यसमध्ये साँवा तर्फ दुई खर्ब ४ अर्ब १६ करोड ३९ लाख र ब्याज तर्फ ५४ अर्ब २७ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको हो।
आन्तरिक ऋण आर्थिक वर्षको सुरुवातमा १२ खर्ब ६८ अर्ब २२ करोड रुपैयाँ रहेकामा चैत मसान्तसम्म बढेर १३ खर्ब ८८ अर्ब ११ करोड पुगेको छ। जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २२. ७३ प्रतिशत पुगेको छ। यस अवधिमा सरकारले २ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब ६३ अर्ब ७७ करोड रुपैयाँ बराबर ऋण तिरेको छ। जुन रकम ब्याज बाहेकको हो ।
त्यस्तै, चैत मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ थियो। यस अवधिमा सरकारले बाह्य ऋणको साँवा–ब्याज भुक्तानीमा ४० अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ भने ६४ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ बराबरको नयाँ बाह्य ऋण थपिएको छ। जीडीपीको तुलनामा बाह्य ऋण २५. ३१ प्रतिशत बराबर रहेको छ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा चैत मसान्तसम्म तीन खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ ऋण उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ६२.८८ प्रतिशत हो। कुल ऋण प्राप्तिमध्ये आन्तरिक ऋणको हिस्सा ७८.३६ प्रतिशत र बाह्य ऋणको हिस्सा २७.६० प्रतिशत रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। चैत मसान्तसम्म भएको भुक्तानी वार्षिक विनियोजनको ४५.५३ प्रतिशत पुगेको छ। जीडीपीका आधारमा यस अवधिसम्मको कुल ऋण सेवा खर्च ४.२३ प्रतिशत बराबर रहेको छ।
Advertisment