Below Menu
Below Menu

नौ महिनामा साढे ४१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा संख्या धेरै तर लगानी न्यून 

नौ महिनामा साढे ४१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा संख्या धेरै तर लगानी न्यून 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता उल्लेखनीय रूपमा वृद्धि भएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६१५ वटा परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

यस अवधिमा  अटोमेटिक रुटमार्फत ४२६ परियोजनामा चार अर्ब ९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने परम्परागत कागजी प्रक्रियाबाट १८९ परियोजनामा ३७ अर्ब ६९ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

वैदेशिक लगानीसँगै रोजगारी सिर्जनामा पनि सकारात्मक संकेत देखिएको छ। दर्ता भएका उद्योगहरू सञ्चालनमा आएपछि करिब २२ हजार ३१६ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। चैत महिनामा मात्र ६१ वटा परियोजनाका लागि एक अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ । 

नेपालमा साना तथा मध्यमस्तरका परियोजनाहरूमा विदेशी लगानीकर्ताको रुचि बढी रहेको देखिएको छ। कुल दर्ता भएका उद्योगमध्ये ५९९ वटा साना उद्योग रहेका छन् भने मझौला र ठूला उद्योगको संख्या समान रूपमा आठ–आठ वटा रहेको छ। 

विभागका अनुसार कृषिमूलक क्षेत्र सबैभन्दा आकर्षक बनेको छ। कृषि क्षेत्रमा १६ वटा परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्र दोस्रो स्थानमा रहेको छ । पर्यटन क्षेत्रका १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

उत्पादनमूलक क्षेत्रमा ३८ परियोजनाका लागि दुई अर्ब ५४ करोड ५६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक क्षेत्रमा ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। 

सूचना प्रविधि क्षेत्रमा भने परियोजनाको संख्या धेरै भए पनि लगानीको परिमाण अपेक्षाकृत कम देखिएको छ रहेको छ । यस क्षेत्रका३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ।

ऊर्जा क्षेत्रमा दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने खनिजमूलक क्षेत्रमा पनि केवल दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ।

यद्यपि, लगानी भित्रिने क्रमसँगै विदेशी लगानीकर्ताले नेपालबाट नाफा बाहिर लैजाने दर पनि उच्च रहेको छ। चालु आर्थिक वर्षको सोही अवधिमा विदेशी कम्पनी तथा लगानीकर्ताले लाभांशका रूपमा १६ अर्ब ८१ करोड ७९ लाख ७० हजार रुपैयाँ नेपालबाट बाहिर लगेका छन्।

त्यस्तै, रोयल्टी शीर्षकअन्तर्गत ४ अर्ब ७५ करोड ९४ लाख ७९ हजार रुपैयाँ, साथै १० लाख ४४ हजार अमेरिकी डलर र ३३ करोड ५६ लाख  भारतीय रुपैयाँ बराबरको रकम पनि बाहिरिएको विभागले जनाएको छ।

Advertisment

थप समाचार