काठमाडौं : चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४० वर्षमाथिका पुरुष सदस्य तथा सर्वसाधारणलाई लक्षित गरी ‘प्रोष्टेट क्यान्सर’ परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।
संस्थाले ‘समयमै जाँच गरौं, प्रोष्टेट क्यान्सरलाई जितौं” भन्ने नारासहित आयोजना गर्न लागेको उक्त शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरी लाभान्वित हुन सबैलाई आग्रह गरेको छ।
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा चैत्र २७ गते (शुक्रबार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर सञ्चालन हुने संस्थाले जनाएको छ।
शिविर वीर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । त्यस्तै शिविरमा काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिका-२२ नंं वडा कार्यालय, नेपाल व्यापार संघ न्यूरोड, लायन्स क्लब अफ काठमाडौं आस्था पुञ्जको सहकार्य रहने संस्थाले जनाएको छ।
शिविरमार्फत समयमै स्वास्थ्य परीक्षणको पहुँच बढाउने र वृद्ध उमेर समूहमा देखिने प्रोष्टेटसम्बन्धी समस्या पहिचान गरी उपचारमा सहजता ल्याउने उद्देश्य राखिएको संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सहकारीको सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सरोकार भन्ने मूल सिद्धान्तअनुसार संस्थाले सदस्यको आर्थिक हितसँगै स्वास्थ्य तथा सामाजिक सुरक्षामा पनि योगदान पुर्याउँदै आएको छ। यस प्रकारका कार्यक्रमले सहकारीको समुदायमैत्री सेवा र सदस्य केन्द्रित अभियानलाई थप प्रभावकारी बनाउने विश्वास संस्थाको छ।
Advertisment