स्वाथ्य बीमाका बिरामीलाई सास्ती दिए कारबाही गर्ने बोर्डको चेतावनी 

स्वाथ्य बीमाका बिरामीलाई सास्ती दिए कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं : स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमाअन्तर्गत उपचार गराउन आउने बिरामीहरूमाथि कुनै पनि बहानामा भेदभाव नगर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन दिएको छ। 

पछिल्लो समय बीमित सेवाग्राहीहरूलाई सेवा प्रवाहका क्रममा विभेदपूर्ण व्यवहार गरिएको, अग्रिम समय (अपोइन्टमेन्ट) लिन बाध्य पारिएको तथा आवश्यक औषधि र सेवा नदिएको गुनासो बढ्दै गएपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो।

बोर्डका अनुसार यस्ता गतिविधिहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित अन्य कानुनको प्रत्यक्ष उल्लंघन हुन्। त्यसैले सबै सेवा प्रदायक संस्थाहरूलाई विद्यमान ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ।

अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ। विशेषगरी स्वास्थ्य बीमा ऐन, २०७४ अन्तर्गत सम्बन्धित प्रावधानअनुसार दण्डात्मक प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रवाहमा समान व्यवहार अनिवार्य रहेको उल्लेख गर्दै बीमित नागरिकलाई सहज, गुणस्तरीय र भेदभावरहित स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सरोकारवालाहरूलाई सचेत गराएको छ।

थप समाचार