काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा यस अवधिमा ४२.८ प्रतिशतले वद्धि भई तीन खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृतमुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । गतअसार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
Advertisment