‘विकू डिजिटल पार्क’ एप प्रयोगमा उत्कृष्टता हासिल गर्ने बालबालिकालाई सम्मान

‘विकू डिजिटल पार्क’ एप प्रयोगमा उत्कृष्टता हासिल गर्ने बालबालिकालाई सम्मान

काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोटले ‘विकू डिजिटल पार्क’ एपको नियमित प्रयोग गर्ने र उत्कृष्टता हासिल गर्ने बालबालिकाहरूलाई सम्मान गरेको छ।

मंगलबार एक कार्यक्रमको बीच संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.३, ईटौरा निवासी कक्षा ५ मा अध्ययनरत विप्लप पोख्रेल र गैंडाकोट नगरपालिका वडा नं. २, निवासी कक्षा ३ मा अध्ययनरत  सम्मृद्धि सापकोटालाई सम्मान गरेको हो । मासिक रुपमा सम्मान तथा शैक्षिक सामग्रीसहित पुरस्कृत गर्ने कार्यक्रम अनुसार माघ महिनामा उत्कृष्ट खेल्ने विद्यार्थी पोख्रेल र सापकोटालाई सम्मान गरिएको संस्थाले जनाएको छ।

सम्मान कार्यक्रममा बालबालिकाहरूले मोबाइलमा अनावश्यक गेम खेल्नुको विकल्पमा विकू डिजिटल पार्कमार्फत क्विज, गणितीय समस्या समाधान र बौद्धिक खेलहरू खेल्दा बालबालिकाको सिकाइ तथा सृजनशिल क्षमतामा वृद्धि भएको अनुभव अभिभावकले जानकारी गराएका थिए।

‘सही प्रविधि, असल सिकाइ’ भन्ने आसयका साथ ‘खेल्दै सिक्ने नयाँ संसार’का रुपमा ल्याइएको विकू डिजिटल पार्क एपलाई केवल मनोरञ्जनको साधनमात्र नभई यसको मुख्य उद्देश्य एप्सको माध्यमबाट बालबालिकाहरूलाई मनोरञ्जन र शिक्षा एकसाथ दिँदै बालबालिकाको बौद्धिक क्षमताको विकास, मनोरञ्जन र सानै उमेरदेखि बचत गर्ने बानीको विकास गरी असल, नैतीकवान, सिर्जनात्मक र तार्किक क्षमता बढाउनु रहेको छ । 

‘विकू डिजिटल पार्क’ एपक विशेष गरी बालबालिकाहरूको सिर्जनात्मक र तार्किक क्षमता बढाउन डिजाइन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिए। एपमा सामान्य ज्ञानको भण्डार, रमाइलो तरिकाले गणित सिक्ने, पहिचान गर्ने क्षमताको विकास, बौद्धिक कसरतका लागि, सहकारी शिक्षाको प्रारम्भ रहेको छ।