Below Menu
Below Menu

ज्योति मिर्मिरे सामुहिक साकोसले मनायो २७औँ वार्षिकोत्सव, सुशासन र पारदर्शितामा उदाहरणीय

ज्योति मिर्मिरे सामुहिक साकोसले मनायो २७औँ वार्षिकोत्सव, सुशासन र पारदर्शितामा उदाहरणीय

काठमाडौं : काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औँ वार्षिकोत्सव मनाएको छ।

Sponsored Advertisement

अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा संस्थाले हालसम्म गरेको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, उपसमितिहरू र कर्मचारीलाई जानकारी गराएको थियो।

संस्थाको हालसम्मको प्रगति र आगामी लक्ष्यको बारेमा जानकारी गराउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारी एकीकरण अभियान सुरु गर्दै ‘सदस्यलाई गर्भदेखि स्वर्गसम्मको सुविधा’ प्रदान गर्ने उद्देश्य लिएको संस्थाले हालसम्म ऋण नतिरेकाका कारण कुनै पनि सदस्यको सम्पत्ति लिलाम गर्नु नपरेको बताए। संस्थाले ऋणी सदस्यहरूको ऋण बीमा निःशुल्क गरिदिएको समेत उनले बताए। सदस्यको निधन भएमा बाँकी ऋण बीमाबाट असुल हुने व्यवस्था भएकाले खराब कर्जा शून्य रहेको उनले बताए।

संस्थामा २१ हजार ४६७ सदस्य र २ हजार १७४ बाल बचतकर्ता आवद्ध छन्। शेयर पूँजी १ अर्ब १४ करोड ५२ लाख ९ सय रुपैयाँ, कुल ऋण लगानी १ अर्ब २ करोड ४२ लाख ५२ हजार ९७३ रुपैयाँ र कुल निक्षेप १ अर्ब १४ करोड २९ लाख ५८ हजार ८१० रुपैयाँ रहेको छ । त्यस्तै साधारण जगेडा कोष ८ करोड ८५ लाख ३६ हजार ४७२ रुपैयाँ तथा कुल सम्पत्ति १ अर्ब ४१ करोड ९२ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृृत दाहालले जानकारी दिए।

संस्थाले हरेक वर्ष बुलेटिन प्रकाशन, विशिष्ट सदस्य अवार्ड, उत्कृष्ट सदस्य सम्मान, एसईई सम्मान, जेष्ठ सदस्य सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मान, विशिष्ट सहकारीकर्मी सम्मान, उत्कृष्ट कर्मचारी तथा सदस्य सेवा केन्द्र सम्मानका कार्यक्रम आयोजना गर्दै आएको छ । 

संस्थाले मोबाइल बैंकिङ, अटो रिचार्ज ‘मिस कल’ सेवा, रेमिट्यान्स सेवा, पशु तथा बाली बीमा, स्वास्थ्य संस्थासँग छुट सुविधा सम्झौता, सदस्यको घरमै सेवा जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । ८ वटा सेवा केन्द्र र ४३ जना कर्मचारीमार्फत सेवा दिइरहेको संस्थामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ ।

बालबालिका, महिला, युवा तथा जेष्ठ नागरिक लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले उद्यमशीलता तालिम, लघुवित्त समूह सशक्तीकरण, स्वास्थ्य परीक्षण, रक्तदान, वातावरण सरसफाइ, छात्रवृत्ति वितरण, मृत्युराहत (२५ हजारदेखि १० लाख ५ हजारसम्म), जटिल रोग उपचार सहयोग, दैवीप्रकोप राहत लगायतका सेवा प्रदान गर्दै आएको छ।

आगामी दिनमा निष्क्रिय सदस्य सक्रिय बनाउने, औसत बचत र शेयर वृद्धि गर्ने, सदस्य शिक्षा र वित्तीय सचेतना अभियान चलाउने, भाका नाघेको ऋण शून्यमा झार्ने तथा सदस्य सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिए।

संस्थाका अध्यक्ष सापकोटाले नीति र कार्यविधिअनुसार पारदर्शी, उत्तरदायी र सुशासनयुक्त सहकारी निर्माणमा जोड दिँदै आएको बताए।

स्थापना दिवसको अवसरमा संस्थाले शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । पनौती–७, मानेश्वरीमा आयोजित कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष उद्धव सापकोटाले ब्यानर वाचन गरी गरेका थिए। कार्यक्रममा संस्थाका करिब ७० जना सदस्यहरूको उपस्थिति रहेको थियो।

सहकारीको भावनालाई केवल आर्थिक कारोबारमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वमा समेत अग्रसर गराउने उद्देश्यका साथ, आयोजना गरिएको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, काभ्रे जिल्ला शाखाको प्राविधिक सहयोग थियो ।

थप समाचार