काठमाडौं : भारतीय विद्युतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीको प्रसिद्ध ब्रान्ड एम्पीयरका दुई नयाँ स्कुटर नेपाली बजारमा भित्रिएका छन्।
नेपालका लागि आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसन प्रालिले एक विशेष कार्यक्रममार्फत मेग्नस निओ र नेक्सस मोडलको औपचारिक बिक्री सुरु गरेको हो।
भारतमा १६५ वर्षको इन्जिनियरिङ विरासत बोकेको ग्रीभ्स कटनको भगिनी संस्था ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १७ वर्षदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। ग्रीभ्सका उत्पादन एम्पीयर भारतमा टप ६ ब्रान्डको रुपमा आफ्नो बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो ।
नेपाली बजारमा ल्याइएका मेग्नस निओ र नेक्सस दुवै मोडल आधुनिक प्रविधियुक्त विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरिएका छन्। मेग्नस निओको मूल्य ३ लाख रुपैयाँ र नेक्ससको मूल्य ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
यी दुवै स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ, जुन अत्यन्त चिसोदेखि अत्यधिक गर्मी तापक्रमसम्म पनि प्रभावकारी रूपमा काम गर्न सक्ने बताइएको छ। कम्पनीका अनुसार ब्याट्री माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्म परीक्षण गरिएको छ।

ब्याट्रीको आयु करिब २ हजार चार्ज साइकल रहेको छ भने ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध गराइएको छ। घरमै करिब साढे ३ घण्टामा पूर्ण चार्ज गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ।
मेग्नस निओमा २.५ किलोवाट क्षमताको मोटर र २.३ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ। एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसमा आरामदायी सिट, १५० किलोसम्मको लोड क्षमता, १६५ एमएम ग्राउन्ड क्लियरेन्स तथा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छन्।
त्यस्तै, नेक्सस मोडल तुलनात्मक रूपमा बढी शक्तिशाली रहेको छ। यसमा ३.३ देखि ३.५ किलोवाट क्षमताको मोटर र ३ किलोवाट–आवरको ब्याट्री प्याक दिइएको छ। एकपटकको चार्जमा करिब १०७ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। मिड–माउन्ट मोटरयुक्त यस स्कुटरमा रिभर्ससहित पाँचवटा ड्राइभ मोड उपलब्ध छन्।
दुवै स्कुटरमा अलोय ह्वील, डिस्क ब्रेक, एलईडी लाइट, यूएसबी चार्जर, डिजिटल डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटी जस्ता आधुनिक फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ। साथै, मजबुत च्यासिस र ट्वीन सस्पेन्सन प्रणालीले सवारीलाई थप स्थिर र आरामदायी बनाउने दाबी गरिएको छ।