काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने समयावधि चैत्र १७ गतेसम्मका लागि थप गर्नुका साथै राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋणको कारोबार गर्दै आएका संघहरूलाई समेत दर्ता अभिलेखीकरण खुला गरेको छ।
प्राधिकरणले आज छुट्टाछुट्टै सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरणका लागि अन्तिम म्याद थप गरेको हो भने सहकारी बैंक र संघहरूलाई पनि आगामी चैत्र १७ गतेसम्म ५ हजार रुपैयाँ शुल्क बुझाई प्राधिकरणमा दर्ता अभिलेखीकरण हुन आग्रह गरेको छ।
सहकारी ऐन २०७४ को दफा २० क(२) बमोजिम प्राधिकरणमा दर्ता हुनका लागि संघ/संस्थाबाट अनुरोध पत्र, संघ/संस्थाको सञ्चालक समितिको निर्णय, साविक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र, दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको उपस्थितिसहितको निर्णय प्रतिलिपि तथा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र प्रमुख कार्यकारी अधिकृतको तीन पुस्ते विवरण संलग्न गर्नुपर्नेछ।
प्राधिकरणले गत मंसिर १० गतेबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण सुरु गरेको थियो। यसअघि दुई पटक समय दिइएकोमा पुनः आज तेस्रो पटक (अन्तिम) दर्ता अभिलेखीकरणको समय थप गरी आगामी चैत्र १७ गतेसम्म पुर्याइएको हो। थप गरिएको म्याद अन्तिम पटकका लागि भएको प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए। यसपछि ऐन संशोधन नगरी म्याद थप गर्न नमिल्ने उनले स्पष्ट पारे।
कति सहकारीले लिए इजाजत?
फागुन ११ गते बेलुका ८:०० बजेसम्मको तथ्यांक अनुसार हालसम्म ६६८ सहकारीले सञ्चालन इजाजत प्राप्त गरेका छन्। त्यस्तै तथ्यांक प्रविष्टिको प्रक्रियामा ३,९४३ सहकारी छन् भने तथ्यांक प्रविष्टि सम्पन्न गरेर भेरिफाइड हुन बाँकी सहकारीको संख्या ३,८४८ रहेको प्राधिकरणका अध्यक्ष शर्माले बताए। भेरिफाइड भएका (इजाजतपत्र पाउन बाँकी) सहकारीको संख्या ४४९ रहेको प्राधिकरणले जनाएको छ।
Advertisment