काठमाडौं : राष्ट्रिय सहकारी महासंघले २०८२ सालमा प्रदान गरिने सहकारी पुरस्कारका लागि आवेदन आह्वान गरेको छ। महासंघले सूचना जारी गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कारका लागि सहकारी संघ तथा संस्थाहरूलाई आवेदन दिन आग्रह गरेको हो।
महासंघका अनुसार पुरस्कार छनोट निर्देशिका २०७५ (संशोधन सहित) अनुसार उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी व्यवसाय तथा उत्कृष्ट सहकारी कर्मचारीलाई सम्मान गरिनेछ। इच्छुक संघ तथा संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आवश्यक कागजातहरू संलग्न गरी आवेदन दिनुपर्नेछ।
संघहरूको हकमा अनुसूची १ र संस्थाहरूका लागि अनुसूची २ अनुसार फारम भर्नुपर्नेछ भने उत्कृष्ट कर्मचारीका लागि अनुसूची ४ अनुसार आवेदन दिनुपर्नेछ। साथै, आवेदनसँग सम्बन्धित माथिल्लो संघ वा नियमनकारी निकायको सिफारिस पत्र अनिवार्य गरिएको छ।
महासंघले आगामी चैत्र ५ गतेभित्र आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन महासंघको वेबसाइटमार्फत पनि दिन सकिने जनाइएको छ।
महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार घोषणा गर्दै आएको छ भने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन पुरस्कार वितरण गर्ने प्रचलन रहेको छ।
Advertisment