काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि दर्ता अभिलेखिकरण तथा सञ्चालन इजाजत प्रक्रियाका लागि दिएको समयावधि आज सकिँदै छ।
प्राधिकरणले “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२” बमोजिम दर्ता अभिलेखिकरण प्रक्रिया २०८२ मंसिर १० गतेदेखि सुरु गरेको थियो। मापदण्डको दफा ३ (४) अनुसार उक्त कार्यको समयावधि २०८२ माघ १० गतेसम्म तोकिएको थियो।
निर्धारित समयभित्र सबै सहकारी संस्थाहरूको विवरण प्रविष्ट नभएकाले प्राधिकरणले म्याद थप गर्दै फागुन ११ गतेसम्मको समय दिएको थियो।
तर, यस अवधिसम्म पनि सबै सम्बद्ध सहकारी संस्थाहरूको विवरण प्रविष्ट भइसक्ने अवस्था नदेखिएको र विवरण प्रविष्टिको कार्य निरन्तर जारी रहेकाले प्राधिकरणले थप समय दिने जनाएको छ।
प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माका अनुसार प्राधिकरण चैत १७ गतेसम्म म्याद थप गर्ने तयारीमा रहेको छ।
‘सहकारीहरू इजाजतको प्रक्रियामै हुनुहुन्छ। कतिपय सहकारी अझै प्रक्रियामा प्रवेश गर्नुभएको छैन,’ अध्यक्ष शर्माले भने, ‘ऐनले दिएको समयसीमा भनेको चैत १७ गतेसम्म मात्रै हो। त्यस अवधिसम्म प्राधिकरणले समय थप गर्नेछ। त्यसपछि म्याद थप हुँदैन।’
अध्यक्ष शर्माका अनुसार चैत १७ गतेसम्म दर्ता प्रक्रियामा प्रवेश गरेका सहकारी संस्थाहरूले इजाजतपत्र प्राप्त गर्नेछन्।
Advertisment