काठमाडौं : बर्दियाको राजापुरमा स्थापना गरिएको राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्राइभेट लिमिटेडले जनवरी २०२६ देखि उखु क्रसिङ सुरु गर्दै व्यावसायिक उत्पादन थालेको छ। प्रतिदिन २ हजार ५ सय टन उखु क्रसिङ क्षमता रहेको यो उद्योगले पश्चिम तराईका उखु किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।
कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका किसानले उत्पादन गरेको उखु सहजै बिक्री गर्न सक्ने भएकाले उद्योग सञ्चालनले कृषक आय वृद्धि र क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। ३०० किलोमिटरको दायराभित्र समान क्षमताको उद्योग नहुनुले किसानले ढुवानी खर्च घटाएर उखु बिक्री गर्न सक्ने अवस्था सिर्जना भएको छ।
लागत बढेपनि उद्योग सञ्चालनमा
उद्योग निर्माणको कुल लागत प्रारम्भिक अनुमानभन्दा करिब १७ प्रतिशत बढेर एक अर्ब ९७ करोड २० लाख रुपैयाँ पुगेको छ। सुरुमा एक अर्ब ६८ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि कर्मचारी आवास निर्माण र निर्माण अवधिको ब्याजदरका कारण लागत बढेको केयर रेटिङ नेपाल को प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, लागत बढे पनि उद्योगले समयमै उत्पादन सुरु गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ। हालसम्म परियोजनाको ८९ प्रतिशत वित्तीय प्रगति पूरा भइसकेको छ भने बाँकी निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
उक्त उद्योग ७५ः२५ ऋण–इक्विटी संरचनामा निर्माण गरिएको हो। कुल ५९ करोड रुपैयाँ इक्विटीमध्ये ५५ करोड १० लाख रुपैयाँ प्रवद्र्धकले लगानी गरिसकेका छन्। आवश्यक कर्जा व्यवस्था पनि पहिल्यै सुनिश्चित भइसकेको कम्पनीको भनाइ छ।
उखु उत्पादन मौसमी भए पनि चिनीको माग वर्षभरि रहने भएकाले उद्योगले कृषि उत्पादनलाई औद्योगिक मूल्य श्रृंखलासँग जोड्ने काम गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सहायक व्यवसायहरू पनि विस्तार हुने विश्वास गरिएको छ।
कम्पनीका प्रवद्र्धक यज्ञ बहादुर ओली उत्पादन र बजार क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका उद्यमी हुन्। देउती गुट्खा, प्याकेजिङ, साबुन तथा रियल इस्टेटमा लगानी गरिसकेका ओलीको अनुभवले उद्योगको सञ्चालन क्षमतामा विश्वास बढाएको छ।
पश्चिमी तराईको अनुकूल मौसमका कारण उखुको रिकभरी दर राम्रो रहने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ छ । राजापुर सुगर २०२३ मा स्थापना भएको हो । चिनी मिल राजापुर नगरपालिका–५ बदालपुरमा रहेको छ।
यद्यपि, कच्चा पदार्थको उपलब्धता, मौसमीय जोखिम, सरकारले तोक्ने उखुको न्यूनतम समर्थन मूल्य तथा चिनीको बजार मूल्य उतार–चढाव उद्योगका मुख्य चुनौती रहनेछन्। त्यसैले मोलासेस, बागास र प्रेस मड जस्ता उप–उत्पादनको उपयोगमार्फत आम्दानी विविधीकरणमा कम्पनीले ध्यान केन्द्रित गर्ने जनाएको छ।
नेपालमा चिनीको माग बढ्दो र घरेलु उत्पादन अपर्याप्त रहेको अवस्थामा यो उद्योगले चिनी आयात घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। सरकारको उखु खेती प्रवद्र्धन र किसान संरक्षण नीतिले उद्योगलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ६६ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ, जसमा दीर्घकालीन र अल्पकालीन कर्जा समावेश छन्।