काभ्रे : सहकारी विश्वव्यापी सिद्धान्त समुदायप्रति चासोलाई व्यवहारमा उतार्दै बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्गता (फरक क्षमता भएका) भएका सदस्यहरूसँग घरदैलोमै पुगेर भेटघाट तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको २७औँ वार्षिकोत्सव समारोहको अवसरमा गरिएका घोषणा बमोजिम संस्थामा आबद्ध २८ जना अपाङ्गता भएका सदस्यहरूसँग संस्थाका पदाधिकारीहरूले प्रत्यक्ष भेटघाट गर्दै सहकारीको मर्म केवल आर्थिक कारोबारमा सीमित नरही मानवीय संवेदना, आपसी सम्मान र सामाजिक उत्तरदायित्वमा आधारित रहेको सन्देश प्रवाह गरेको छ।

भेटघाटका क्रममा प्रत्येक सदस्यलाई पोलार ब्ल्याङ्केट, नुहाउने साबुन, टुथब्रस, मञ्जन तथा नगद २०० सहयोग प्रदान गरिएको थियो। संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्यले सहकारी भनेको बचत–ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको जीवनसँग प्रत्यक्ष जोडिएको सामाजिक अभियान भएको बताए।
‘अपाङ्गता भएका सदस्यहरूसँग घरदैलोमै पुगेर गरिएको यो भेटघाट सहकारीको मानवीय पक्षको उदाहरण हो । सदस्यको सुख–दुःखमा साथ दिनु नै सहकारीको वास्तविक मर्म हो’, आचार्यले भने, ‘आगामी दिनमा पनि सदस्य केन्द्रित र समुदायमुखी सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्न संस्था प्रतिवद्ध छ ।’