काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सन् २०२५ मा २७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २१९.५४ प्रतिशतले बढी हो । केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२४ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
व्यापार उल्लेखनीय रूपमा बढे पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने केही गिरावट देखिएको छ । सन् २०२४ मा ४५.१३ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ४३.६९ प्रतिशतमा सीमित भएको छ ।
पशु तथा आँखासम्बन्धी परियोजनामा गरिएको लगानीका कारण मूल्यह्रास र ब्याज खर्च बढ्दा खुद नाफा मार्जिन ४.१५ प्रतिशतमा झरेको केयर रेटिङले जनाएको छ । यद्यपि, कम्पनीले यस अवधिमा ५ करोड ८० लाख रुपैयाँ बराबरको नगद नाफा आर्जन गरेको छ ।
रेटिङ एजेन्सीका अनुसार कम्पनीको व्यवसाय कार्यशील पूँजीमा अत्यधिक निर्भर रहेको छ । सन् २०२५ मा कम्पनीको औसत संकलन अवधि २८७ दिन पुगेको छ, जसले बैंक वित्तपोषणमा उच्च निर्भरता रहेको संकेत गर्छ । साथै, नेपाली औषधि बजारमा रहेको तीव्र प्रतिस्पर्धा, नियामकीय जोखिम तथा अस्थिर ब्याजदरले पनि कम्पनीको रेटिङमा प्रभाव पारेको उल्लेख गरिएको छ ।
हाल कम्पनीको भेर्टिनरी ब्लक परियोजनामा संरचनागत निर्माण र मेसिनरी खरिद सम्पन्न भइसकेको छ भने उत्पादनसम्बन्धी अनुसन्धान सुरु भइसकेको छ । आँखासम्बन्धी ब्लक निर्माणाधीन अवस्थामा रहेको र उपकरण खरिद प्रक्रिया जारी रहेको जनाइएको छ । यी परियोजनाहरू समय र लागतभित्र सम्पन्न गर्न सक्ने क्षमता कम्पनीको भावी क्रेडिट प्रोफाइलका लागि निर्णायक हुने केयर रेटिङको निष्कर्ष छ ।
सन् २०२५ मा १८ करोड रुपैयाँको इक्विटी इन्फ्युजनपछि कम्पनीको ऋण–इक्विटी अनुपात १.०५ गुणामा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधारिएको अवस्था हो । यस अवधिमा समग्र गियरिङ अनुपात १.३३ गुणा र ब्याज कभरेज अनुपात १.८८ गुणा रहेको छ ।
कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू विभिन्न उद्योगमा दुई दशकभन्दा बढी अनुभव बोकेका व्यक्तिहरू रहेको जनाइएको छ ।
नेपालमा औषधि उपभोग क्रमशः बढ्दै गइरहेको र हाल करिब आधा औषधि आयातमा निर्भर रहेकाले घरेलु उत्पादन विस्तारका लागि दीर्घकालीन रूपमा ठूलो सम्भावना रहेको केयर रेटिङले औंल्याएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन बैंक सुविधाका लागि कुल ९९ करोड ९८ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जातर्फ ७१ करोड १४ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ २८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
यसैबीच, ओम मेगाश्री फर्मास्युटिकल्सले २०८१ माघ २१ गते सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको छ ।
Advertisment