काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंक यस अवधिमा ५५ लाख २७ हजार रुपैयाँ नाफामा रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। सहकारी संस्थालाई प्रदान गरिएको कर्जा तथा सापट रकममा देखिएको कर्जा नोक्सानी उल्लेखनीय रूपमा घटेकाले बैंकको नाफा अवस्था सुधारिएको हो।
बैंकले कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्थापनका लागि चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख ३७ हजार रुपैयाँ छुट्याएको छ। गत वर्ष सोही शीर्षकमा ६७ करोड ५१ लाख रुपैयाँ व्यवस्था गरिएको थियो।
यसैगरी, गत आवमा २३ करोड १३ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको खुद सञ्चालन आम्दानी चालु आवको पुस मसान्तसम्म ३४ करोड ५७ लाख ५५ हजार रुपैयाँ धनात्मक भएको छ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १७ करोड ९१ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा ५८।०८ प्रतिशतले घटेको हो। गत आवको सोही अवधिमा यस्तो आम्दानी ४२ करोड ७२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ७।११ प्रतिशतले घट्दै पुस मसान्तसम्म ४१ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ। गत आवको सोही अवधिमा बैंकको सञ्चालन आम्दानी ४४ करोड ३७ लाख रुपैयाँ रहेको थियो।
गत आवको पुस मसान्तसम्म ५६ करोड २५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको सञ्चालन नाफा चालु आवमा १ करोड ८३ लाख २१ हजार रुपैयाँ धनात्मक भएको छ।
यद्यपि, बैंकको खराब कर्जा उल्लेखनीय रूपमा बढेको देखिएको छ। गत आवमा १७।१३ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ३५।७४ प्रतिशत पुगेको छ। सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ३०।१९ प्रतिशत व्यवस्था गरेको छ। साथै, बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
पुस मसान्तसम्म बैंकको प्रति शेयर आधारभूत आम्दानी ०।१९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८।६५ रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ९० करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा २ अर्ब ८४ करोड २० लाख रुपैयाँ थियो। बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड १९ लाख रुपैयाँ रहेको छ।
बैंकले पुस मसान्तसम्म सहकारी संस्थाबाट ४८ अर्ब ५१ करोड ६७ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब ९८ करोड २६ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।