दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भावी नेतृत्व विकासलाई लक्षित गर्दै दुईदिने नेतृत्व पूर्व तालिम ‘फिट एण्ड प्रपर टेस्ट’ सम्पन्न गरेको छ। संस्थाको विनियम तथा निर्वाचन नियमावली बमोजिम आवश्यक योग्यता पुगेका इच्छुक शेयर सदस्यलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०१३ मा सार्वजनिक गरेको ‘ब्लुप्रिन्ट फर अ को–अपरेटिभ डिकेड’ मा भावी सहकारी नेतृत्वलाई पूर्व तयारी तालिम आवश्यक हुने उल्लेख गरिएअनुसार संस्थाले यो अवधारणालाई आत्मसात् गर्दै बिनियममै व्यवस्था गरी तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमका अनुसार नेपालमै पहिलो पटक यस्तो अभ्यास मिलिजुली कालिञ्चोक साकोसले सुरु गरेको हो । यस्ता अभ्यास अन्य सहकारी संस्थाका लागि पनि उपयोगी हुने भन्दै नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले यसलाई अनिवार्य गर्नुपर्ने धारणा राखे ।
तालिमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा समापन कार्यक्रम बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा नेफ्स्कून तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सि नाले सहजीकरण गगरेको तालिममा पुरुष ३४ र महिला १९ गरी कुल ५३ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहकारी ऐनले तोकेका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका काम, कर्तव्य र अधिकार, सहकारीका मूल्य–मान्यता र सिद्धान्त, सुशासन, वित्तीय तथा प्रशासकीय जिम्मेवारी, आन्तरिक लेखापरीक्षण, नियमनकारी निकायका मापदण्ड, सम्पत्ति शुद्धीकरण निवारण, प्रविधि प्रयोग, पर्ल्स अनुगमन प्रणाली, कर्जा सूचना केन्द्र, एनएफआरएस प्रणाली, असल अभ्यास लगायतका विषयमा जानकारी गराइएको थियो ।
संस्थाका व्यवस्थापक रमेश सापकोटाका अनुसार भावी नेतृत्वलाई जिम्मेवारीमा जानु अघि नै आवश्यक ज्ञान, सीप र बुझाइ दिनु नै तालिमको मुख्य उद्देश्य हो । यसले संस्थागत सुशासन, पारदर्शिता र दीगो विकासमा सहयोग पुग्ने उनले जनाए ।