छ महिनामा आठ खर्ब व्यापार घाटाः निर्यात ४३ प्रतिशतले बढ्दा पनि अर्थतन्त्रमा दबाब कायमै 

छ महिनामा आठ खर्ब व्यापार घाटाः निर्यात ४३ प्रतिशतले बढ्दा पनि अर्थतन्त्रमा दबाब कायमै 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेपनि व्यापार घाटाको अवस्था अझै भयावह देखिएको छ । 

Sponsored Advertisement

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे १० खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले सात खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ ६७ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । पुस  मसातसम्म नेपालले १० खर्ब ८१ अर्ब चार करोड आठ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा नौ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

निर्यातको फड्को तर आयातको भार

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । छ महिनामा सवा नौ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने झण्डै साढे एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ 

मंसिरसम्ममा आयात १४.१८ प्रतिशत र निर्यात ४३.७६ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 
यस अवधिमा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ९८ अर्ब ७८ करोड ९२ लाख ४७हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन । 

विलासी वस्तु र पेट्रोलियम पदार्थको बढ्दो आयातले गर्दा देशको शोधनान्तर स्थितिमा चाप परिरहेको छ । 

यस अवधिमा नेपालले १५२ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ३२ देशसँगको व्यापार नाफामा छ भने १२० देशसँगको व्यापार घाटामा रहेको छ ।