Below Menu
Below Menu

‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यविधि लागू, हरेक वर्ष १४ जना किसानलाई सम्मान गरिने

‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यविधि लागू, हरेक वर्ष १४ जना किसानलाई सम्मान गरिने

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ लागू गरेको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत देशभरका उत्कृष्ट कृषक तथा कृषि उद्यमीलाई सम्मान गर्दै कृषि पेशालाई आकर्षक, सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो ।

Sponsored Advertisement

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) बमोजिम जारी गरिएको उक्त कार्यविधि कृषि तथा पशुपन्छी विकास मन्त्रीको निर्णयअनुसार २०८२ साल मंसिर ७ गतेबाट लागू भएको हो । कृषि पेशामा युवालाई आकर्षण बढाउने लक्ष्यका साथ यो कार्यविधि लागु गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधता र आधुनिक कृषि प्रविधिको उपयोगमार्फत खाद्य तथा पोषण सुरक्षासँगै दिगो आर्थिक वृद्धि सम्भव रहेको उल्लेख गर्दै मन्त्रालयले कृषिलाई उत्पादन, आम्दानी र रोजगारीको मुख्य माध्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । यस कार्यविधिले कृषक र कृषि उद्यमीको योगदानलाई उच्च सम्मान गर्दै उनीहरूको मनोबल बढाउने, कृषि पेशालाई प्रतिस्पर्धी र व्यवसायिक बनाउने लक्ष्य लिएको छ ।

हरेक वर्ष १४ उत्कृष्ट कृषक सम्मानित

कार्यविधिअनुसार प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी देशभरका विभिन्न जिल्लाका १४ जना उत्कृष्ट कृषकलाई वार्षिक रूपमा सम्मान गरिनेछ । यसबाट कृषि उत्पादन वृद्धि, व्यवसायिक कृषि प्रवद्र्धन र कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्ने मन्त्रालयको विश्वास छ ।

प्रदेशमार्फत छनोट प्रक्रिया

उत्कृष्ट कृषक छनोट प्रक्रिया प्रदेशस्तरबाट सुरु हुनेछ । कार्यविधिको अनुसूची–१ मा उल्लेखित विभिन्न विधाअनुसार प्रत्येक प्रदेशले कम्तीमा दुई विधामा उत्कृष्ट कृषक छनोट गरी मन्त्रालयमा सिफारिस गर्ने व्यवस्था गरिएको छ । यसका लागि केन्द्रमा सहसचिवको संयोजकत्वमा कृषि विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशकहरू सम्मिलित समिति गठन गरिएको छ ।

प्रदेश कृषि मन्त्रालयहरूले पौष महिनाको तेस्रो हप्ताभित्र सम्बन्धित प्रदेशका कृषकहरूबाट २१ दिनको सूचना जारी गरी निवेदन संकलन गर्नेछन् । आवश्यक निवेदन नआएमा थप ७ दिनको सूचना प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ ।

कृषकदेखि उद्यमीसम्म लक्षित

कार्यक्रमले देशभर कृषि पेशामा संलग्न कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, कृषि व्यवसाय गर्ने कम्पनी, प्राथमिक प्रशोधनकर्ता तथा कृषि उद्यमीलाई लक्षित गरेको छ । बाली, बागवानी, पशुपन्छी, मत्स्य, च्याउ लगायत सम्पूर्ण कृषि उपक्षेत्र यस कार्यक्रमअन्तर्गत समेटिएका छन् । मन्त्रालयका अनुसार यो कार्यविधिले कृषकको सम्मानसँगै कृषि क्षेत्रको समग्र विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

थप समाचार