काठमाडौं : धितोपत्र बजारमा प्रवाह हुने मार्जिन कर्जा (शेयर धितो कर्जा)मा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूबाट शेयर धितो कर्जा प्रवाहमा तेज वृद्धि देखिएको छ।
राष्ट्र बैंकले लामो समयदेखि लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्दै शेयर धितो कर्जाको सीमा खारेज गरेसँगै कर्जा प्रवाहमा वृद्धिको मुख्य कारण भएको बताइएको छ। बैंकबाट लगानीकर्ताले अब आवश्यक परे जति रकम कर्जा लिन सक्ने व्यवस्था बनेको छ।
राष्ट्र बैंकका तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरूले पहिलो पाँच महिनामा कुल एक खर्ब २५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७६ प्रतिशत बढी हो।
गत आर्थिक वर्ष २०८१र८२ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूले ८६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ मात्र शेयर धितो कर्जा प्रवाह गरेका थिए। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल कर्जाको आकार एक खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ, जुन डेढ वर्षमै करिब ६४ प्रतिशतले वृद्धि भएको हो।
कुल प्रवाहित कर्जामध्ये १ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको वर्गको हिस्सा एक खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ, जुन कुल कर्जाको करिब ७० प्रतिशत हो। पछिल्लो पाँच महिनामा यस वर्गको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले बढेको छ।
त्यसैगरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा लिने वर्गको कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ, जसमा पछिल्लो पाँच महिनामा ११.७ प्रतिशत वृद्धि देखिएको छ।
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा प्रवाह १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ, र पाँच महिनामा ७१ करोड ५८ लाख रुपैयाँ थपिएको छ।
साना लगानीकर्ताहरू, अर्थात् २५ लाख रुपैयाँभन्दा कम कर्जा लिने वर्ग, को मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसमा ६।७ प्रतिशत वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल ८ अर्ब ८ करोड ६० लाख रुपैयाँ शेयर धितो कर्जा बढेको छ, जुन ५.७ प्रतिशतको वृद्धिदर हो। गत वर्षको सोही अवधिमा यो वृद्धि १९.८ प्रतिशत अर्थात १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा (क्याप) हटाउनु, बैकिङ प्रणालीमा अधिक तरलता रहनु र ब्याजदर सस्तो बन्दै जानुले शेयर धितो कर्जामा वृद्धि देखिएको हो ।
कुन बैंकले कति गरे लगानी ?
पुस मसान्तसम्म शेयर धितो कर्जामा सर्वाधिक लगानी गर्नेमा नबिल बैंक रहेको छ । नबिलले यस अवधिमा १५ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ ।
त्यस्तै पुस मसान्तसम्म नेपाल बैंकले ७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले सात अर्ब ७६ करोड ५५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले तीन अर्ब ९८ करोड २५ लाख रुपैयाँ शेयर धितोमा लगानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी भने शुन्य रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा हिमालयन बैंकले शेयर मार्जिन कर्जामा तीन अर्ब दुई करोड १३ लाख, नेपाल एसबिआईले ५८ करोड ६० लाख, एभरेष्टले तीन अर्ब ८३ करोड २२ लाख, एनआईसी एशियाले तीन अर्ब ५३ करोड २६ लाख, माछापुच्छ्रे बैंकले तीन अर्ब ८९ करोड ८८ लाख रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चालु आवको पाँच महिनामा कुमारी बैंकले शेयर धितो कर्जामा १० अर्ब २७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ भने लक्ष्मी सनराइजले आठ अर्ब ३० करोड ४१ लाख र सिद्धार्थ बैंकले आठ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म कृषि विकास बैंकले छ अर्ब ९२ करोड ५६ लाख, ग्लोबल आईएमईले बैंकले १५ अर्ब ८३ करोड ३१ लाख, सिटिजन बैंकले छ अर्ब २१ करोड ५१ लाख र प्राइम कमर्सियलले नौ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ ।
त्यस्तै एनएमबीले तीन अर्ब २० करोड ९८ लाख, प्रभु बैंकले छ अर्ब ३९ करोड ९५ लाख र सानिमा बैंकले तीन अर्ब ४५ करोड ९१ लाख रुपैयाँ शेयर धितो कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।