ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब

ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब

काठमाडौं : बजारमा मागको संकुचन कायमै रहँदा लामो समयदेखि अधिक तरलताको समस्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरू थप दबाबमा परेका छन्। भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य गिरावट आएको छ।

एकातर्फ कर्जाको माग अपेक्षित रूपमा नबढ्नु र अर्कोतर्फ लगानी गरिएको रकम समयमा असुली हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरू थप समस्याग्रस्त बनेका छन्। 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कुल २८ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा पाँच अर्ब ४६ करोड रुपैयाँले कम हो। गत आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको नाफा ३३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूले २५ अर्ब ७२ करोड रुपैयाँ, विकास बैंकहरूले २ अर्ब ५७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरूले २२ करोड रुपैयाँ नाफा कमाएका छन्।

वाणिज्य बैंकको नाफा १५ प्रतिशतले घट्यो

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २५ अर्ब ७२ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९२ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड २८ लाख रुपैयाँ नाफा कमाएका थिए।

मंसिर मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमई बैंक र नबिल बैंकले मात्र ३ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएका छन्। यता सिटिजन्स बैंकको नाफा भने सबैभन्दा कम रहेको छ।

समीक्षा अवधिमा ६ वटा वाणिज्य बैंकको नाफा मात्र गत आवको तुलनामा बढेको देखिएको छ भने १४ वटा बैंकको नाफा घटेको छ। विशेषतः जेन–जी आन्दोलनपछिको अवस्थामा बैंकहरूको नाफामा थप संकुचन देखिएको छ।

घट्दो ब्याजदर, उद्योग–व्यवसाय, रियल स्टेट तथा सेयर कारोबारमा देखिएको सुस्तताका कारण कर्जाको माग बढ्न नसक्दा वाणिज्य बैंकहरूको आम्दानी प्रभावित भएको हो। बजारमा अधिक तरलताका कारण ब्याजदर घट्नु, कर्जा असुली कमजोर हुनु र खराब कर्जा बढ्दै जानुले बैंकहरूको नाफा थप दबाबमा परेको देखिन्छ।

नाफा सबैभन्दा धेरै घट्ने बैंकको सूचीमा सिटिजन्स बैंक अग्रस्थानमा रहेको छ। बैंकको नाफा गत वर्षको तुलनामा ६४.९२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

थप समाचार