काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग, कालीकास्थान, काठमाडौंमा सम्पन्न भएको हो ।
सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए ।
आव २०८१/०८२ मा कम्पनीले खुद ५० करोड २ लाख ४८ हजार ५२३ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आव २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बढी हो ।
त्यसैगरी, गत वर्षको दाबी भुक्तानी २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपैयाँको तुलनामा यस आवमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ रुपैयाँको दाबी भुक्तानी गरेको छ । आउदो वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको जनाइएको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आव २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
सभामा कतिपय शेयरधनीहरुले लिखित सुझाव तथा कतिपय शेयरधनीहरु उपस्थिति भई आ–आफनो धारणाहरु राखेका थिए ।