काठमाडौं : आईतबार फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाटको घटना भएको छ । संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदार माथि मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाइ उनीहरुको साथबाट नगद लुटपाट गरि भागेको संस्थाले जनाएको छ ।
दुई कर्मचारी लालबन्दी नगरपालिका वडा नं. ३, जब्धीमा नियमित बस्ने केन्द्र बैठक सञ्चालन गरी कार्यालयतर्फ फर्किने क्रममा हरिपुर जाने सडकको पोखरीटोल सडक खण्डमा उक्त घटना भएको संस्थाले बताएको हो ।
घटनामा केन्द्र बैठकमा संकलित एक लाख ८४ हजार ७०५ रुपैयाँ नगदसहित उनीहरुको साथमा रहेको कार्यालय प्रयोजनका कागजात सहितकोे झोला लुटेर पूर्वदिशा तर्फ फरार भएको बुझिएको छ ।
घटनाका सम्वन्धमा तत्कालै ईलाका प्रहरी कार्यालय बयलबासमा जानकारी दिई खोजतलास भएको र भोलीपल्ट लिखित उजुरी दिएको संस्थाले जानकारी दिएको हो ।
प्रहरी प्रशासनले घटनाको बिषयमा पिडित कर्मचारी, शाखाका कर्मचारी र स्थानियहरुसँग सोधपुछ गरी जानकारी लिएको र घटना भएको बाटोमा रहेका सी.सी. क्यामेराहरुको चेकजाँच गर्नुका साथै शंकास्पद ब्यक्तिहरुको निगरानी भैरहेको जानकारीे दिएको छ ।