Below Menu
Below Menu

नियामकीय निर्देशन पालना गर्दै जेष्ट आइडियोलोजीको साधारण सभा, प्राथमिक पुँजी कोष करिब २९ करोड

नियामकीय निर्देशन पालना गर्दै जेष्ट आइडियोलोजीको साधारण सभा, प्राथमिक पुँजी कोष करिब २९ करोड

काठमाडौं : न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियामकीय निर्देशन पालना गर्दै गैर सदस्यरहित साधारण सभा सम्पन्न गरेको छ । संस्थाले १६औं वार्षिक साधारण सभा बिहीबार संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गरेको हो ।

साधारण सभाको उद्घाटन संस्थापक अध्यक्ष एवं सल्लाहकार राम प्रसाद आचार्य र अध्यक्ष हेमबहादुर कार्कीले संयुक्त रुपमा गरेका थिए। संस्थाका सचिव बाबुराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्था सहकारीका सिद्धान्त, नीति र विधिअनुसार सञ्चालन हुँदै आएको बताइन्। सक्षम तथा दिगो संस्था निर्माणका साथै सुशासन र पारदर्शितामा ‘जेष्ट आइडियोलोजी’ टिम प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।

संस्थाले आसनग्रहण, अतिथिका लम्बेतान मन्तव्य, मायाको चिनो, खादामाला जस्ता अनावश्यक कुराहरु कटौती गरी सिधै एजेण्डागत रुपमा प्रस्तुति र छलफल गरी छोटो, मिठो र मितव्ययी तरिकाले उत्साहपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, आन्तरिक नीति तथा कार्यविधि लगायत १० वटा एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस्तै लेखा समितिका संयोजक मोहन बहादुर बुढाथोकीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सभामा पेश गरेका थिए। 

सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले संस्थाले ‘सन्तुष्ट तथा हितकारी सदस्य बिना सक्षम संस्था निर्माण सम्भव हुँदैन’ भन्ने मुल मन्त्रलाई बुझेको र त्यस अनुरुप सदैव सदस्यलाई केन्द्रविन्दुमा राखि सदस्यको अमुल्य सल्लाह, सुझाव मौखिक तथा लिखित रुपमा सदस्य सन्तुष्टि सर्वेक्षण फारम भराई साथै अनलाइन प्रविधिको प्रयोग गरि समेत ग्रहण साथै मनन गरी त्यस अनुरुप कार्य गर्दै आएको अध्यक्ष कार्कीले बताए। आ.व.२०८१÷०८२ मा संस्थाले लिखित रुपमा सदस्य सन्तुष्टि सर्वेक्षण फारम ९५६ जनाबाट र अनलाइन प्रविधिको प्रयोग गरि ४०७ जनाबाट सुझाव संकलन गरी त्यस उपर अध्ययन, सम्बन्धित आवश्यक छलफल तथा कार्य गरेको साथै सम्बन्धित सदस्यलाई धन्यवाद ज्ञापन साथै सो सम्बन्धमा जानकारी समेत गराएको छ ।

सक्षम तथा दिगो विकासका निमित्त संस्था सदस्यमुखी र संस्थाको गुणात्मक वित्तीय सुचकांक हुनुपर्छ भन्ने तथ्यलाई आत्मसात गर्दै संस्थाको दिगो विकास, गुणस्तरिय र सक्षम संस्था निर्माण, वित्तीय अनुशासन र जोखिम व्यवस्थापन गर्नुपर्ने आजको आवश्यक्तालाई मध्यनजर गर्दै संस्थाको सफलताको उचाई तथा सुनिश्चितताको निमित्त सदैव तत्पर रहेको प्रतिबद्वता अध्यक्ष कार्कीले जनाए।

२०६६ साल पौष २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालयमा दर्ता भएको संस्थामा हाल ६ हजार ६ सय १२ जना सदस्य आवद्ध छन्।

संस्थाको प्राथमिक पुँजी कोषको आकार २८ करोड ७१ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको अध्यक्ष कार्कीले बताए । संस्था सफल यात्रा तय गरी गन्तव्यमा पुग्न कोष नै सहकारीको मुख्य आधार रहेको अध्यक्ष कार्कीको भनाई थियो। 

२०८२ असार मसान्तसम्म संस्थाको सेयर पुँजी ९ करोड ५८ लाख, जगेडा कोषमा १८ करोड ८१ लाख रहेको छ । त्यस्तै निक्षेप १ अर्ब ५० करोड, बाह्य ऋण २१ करोड ९३ लाख, कर्जा १ अर्ब ८१ करोड ३१ लाख, स्थिर सम्पत्ति ५ करोड २४ लाख रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ। संस्थाले यस वर्ष १ करोड ६८ लाख (कर अघि) नाफा गरेको छ। 

संस्थाले आर्थिक वर्ष २०८१८२ मा सरकारलाई १ करोड ४१ लाख ६३ हजार ८२७ रुपैयाँ राजश्व वापत योगदान गरेको छ।

साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने १५ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट सञ्चालन अधिकृत हरिकृष्ण सम्मानित भएका छन् । विभिन्न विधामा ११ जना कर्मचारीलाई सम्मान गरिएको थियो भने ५, १० र १५ वर्ष अवधि सेवा गरेको ८ कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

साधारण सभाको अवसरमा सदस्यहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन तथा बिक्री पनि गरिएको थियो। संस्थाले हरेक वर्ष साधारण सभाका क्रममा यस्ता प्रदर्शन तथा बिक्री स्तलहरू राख्दै सदस्यका उत्पादनको बजार विस्तारमा योगदान पु¥याउँदै आएको छ।

Advertisment