Below Menu

भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश

भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश

काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ।

Sponsored Advertisement

सभामा अध्यक्ष लाखाजुले सहकारीको विकल्प सहकारी रहेको बताउँदै बैंक तथा वित्तीय संस्था हुन नसक्ने बताए। उनले समुदाय केन्द्रीत र सहकारी मुल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित सहकारी सङ्घ/संस्थाहरुमा परिस्थितिवश केही समस्या भएतापनि जटिल समस्या नरेको बताए।

विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पुर्याइरहेका सहकारी संघ/संस्थाहरुलाई संकुञ्चनमा ल्याउन र जिल्ला बचत संघ लगायत सहकारी संघहरुलाई आफ्नो सदस्य संस्थाहरुबीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा विरोध जनाउँदै आएको समेत स्पष्ट पारे ।

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएकोमा खुशी व्यक्त गरे। संघका उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघ/संस्थाहरु रहेको बताए। 

संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायतता र स्वनियमको नाममा एकलौटी व्यवसाय झै सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले सहकारी अभियानमा देखापरेका विकृति र विसंगति रोक्न आफैबाट सुरु गर्नुपर्ने आवश्यकता औल्याए।

जनताको पैसा निक्षेप फिर्ता नदिई भाग्ने सञ्चालक तथा कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दवाव र प्रभावमा नपारी हदैसम्मको कार्वाही गर्नु पर्ने विचार सचिव प्रजापतिले राखे । उनले सभामा पेश गरेका आ.व.२०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२/०८३ मा २८ लाखको प्रस्तावित कार्यक्रमहरु साधारण सभाले पारित गरेको थियो ।

संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताए। उनले सहकारी संघ संस्थामा तरलता बढदै गएको तर ऋण मागका कमिका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी संचालनमा सकस थप्दै गएको बताए। उनले पेश गरेका आ.व.२०८१/०८२ को वासलात तीन अर्ब बाह्र करोड, आय एक करोड सात लाखसहितको आर्थिक प्रगति प्रतिवेदन र आ.व.२०८२/०८३ को वासलात तीन अर्ब पन्ध्र करोडको अनुमानित बजेट सभाले पारित गरेको थियो । 

लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सिमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सबलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने विचार राखे। सभाले शेयर लाभांश कोषबाट ४.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सहकारी ऐन नियमावली अनुसार संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।

अध्यक्षमा हरिकृष्ण बल्ल र लेखा संयोजकमा दामोदर न्यौपाने
सभाले अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर न्यौपानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ।

अध्यक्ष बल्ल मित्र बचत तथा ऋण सहकरी संस्था लि.को प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन् । लेखा समितिका संयोजक न्यौपाने अमरज्योति बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दछन् ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का जगनाथ प्रजापति, सचिवमा उपकार बचत तथा ऋण सहकारी संस्था लि.का कान्छाभक्त घजु, कोषाध्यक्षमा भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.की कृष्णश्वरी प्रजापति चयन भएकी छिन् ।

त्यस्तै सञ्चालकहरुमा नन्दीकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.की इन्द्रप्रसाद व्यान्जु, देवि महिला बचत तथा ऋण सहकारी संस्था लि.की चन्दीका छुकां, दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था लि.की सुसिला पराजुली बराल, ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का राजकुमार लघु र बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि.का विवेक श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै लेखा समितिका सदस्यहरुमा विन्ध्यावासी बचत तथा ऋण सहकारी संस्था लि.की गिता प्रसाद नेपाल र बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.की प्रतिभा अदुवा श्रेष्ठ निर्वाचित भएकी छिन्।

साधारण सभामा २०३ सदस्य संस्थामध्येबाट १७७ जना प्रतिनिधिको उपस्थिति रहेको संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले जानकारी दिए।

Sponsored Advertisment

थप समाचार