काठमाडौं : सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक उद्यमीहरूलाई २१ दिनभित्र अर्थात् मङ्सिर ९ गते दिउँसो ४ बजेसम्म परियोजना प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।
जारी सूचनामा भनिएको छ, ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र अनुसूची–४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सूचना प्रकाशन गरिएको छ।’
यसपटक स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) मा संशोधन गरि कर्जाको अधिकतम सीमा घटाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधनअनुसार, चालु आर्थिक वर्षमा एक स्टार्टअप उद्यमीले पाउने कर्जाको अधिकतम सीमा घटाइएको हो।
संशोधित कार्यविधिअनुसार अब चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यसअघि सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिँदै आएको थियो ।
यद्यपी कर्जाको अधिकतम सीमा घटाइए पनि ब्याजदर भने ३ प्रतिशत नै कायम रहनेछ। मन्त्रालयले बजेटमा कटौती भएका कारण कर्जाको सीमा घटाउनुपरेको जनाएको छ। गत वर्ष स्टार्टअप कर्जाका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि ७३ करोड रुपैयाँ मात्र छुट्याइएको छ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ बमोजिम दफा ४ अनुसार योग्यता पूरा गरेका र अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीले कर्जाका लागि आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानका अनुसार कर्जाक लागि अनुसूची–४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ। अनलाइन आवेदन परियोजना प्रस्ताव प्रतिष्ठानको वेबसाइट मार्फत अनलाइन भर्न सकिनेछ।
Sponsored Advertisment