नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ

नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ।

Sponsored Advertisement

सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ।

कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्सी रेसियो २०२४ को मध्य जुलाईसम्म १४५ प्रतिशत रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो । त्यस्तै, २०२४ मा कम्पनीले २१ अर्ब २९ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । जुन ठूला लगानी पोर्टफोलियो र स्थिर प्रतिफलका कारण सम्भव भएको इक्रा नेपालको विश्लेषणमा उल्लेख छ।

लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा राखिएकाले जोखिम न्यून देखिएको छ तर ब्याजदर घट्दै जाँदा प्रतिफल घट्ने जोखिम भने कायम रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

बढ्दो प्रतिस्पर्धा, बीमा नवीकरण दरमा आएको गिरावट तथा नियामकीय परिवर्तनहरू कम्पनीका लागि चुनौतीका रूपमा देखिएका छन् । सन् २०२३ मा ८९ प्रतिशत रहेको पोलिसी नवीकरण दर सन् २०२४ मा ६२ प्रतिशतमा झरेर सीमित भएको तथ्याङ्कले बजार प्रतिस्पर्धाको दबाब प्रस्ट पार्छ।

साथै, भविष्यमा लागू हुने अन्र्तराष्ट्रिय वित्त प्रतिबेदन मापदण्ड १७ लेखापरीक्षण मापदण्ड र बोनस सम्बन्धी मार्गनिर्देशनहरूका कारण कम्पनीको नाफा तथा वित्तीय सूचकहरूमा प्रभाव पर्न सक्ने सम्भावना आइक्रा नेपालले औंल्याएको छ।

आगामी दिनमा नेपाल लाइफ इन्स्योरेनसले बढ्दो कोष र लगानी संरचनाबाट पर्याप्त तथा स्थिर प्रतिफल सुनिश्चित गर्न सक्ने क्षमता तथा सोल्भेन्सी स्थितिलाई मजबुद राख्ने परिणाम नै कम्पनीको रेटिङको प्रमुख निर्णायक कारक रहने उल्लेख गरिएको छ।