Below Menu
Below Menu

सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत

सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले महाप्रबन्धक सुरेश थापाको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको महासंघ सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
थापा खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि महाप्रबन्धक नियुक्त भएका थिए । २०८१ माघ १ गतेबाट महाप्रबन्धक बनेका थापाको अनपेक्षित एक्जिट भएको छ ।

थापाले साउन १५ गतेदेखि लागू हुनेगरी असार १५ गते राजीनामा दिएका थिए । तर, सञ्चालक समितिले भने साउन १ गतेबाटै लागू हुने गरी राजिनामा स्वीकृत गरेको एक सञ्चालकले जानकारी दिए । महाप्रबन्धक थापा १९ गतेदेखि ८ दिन बिदामा छन् । थापाले निमित्त महाप्रबन्धकको जिम्मेवारी गोपिकृष्ण भण्डारीलाई दिएर बिदा बसेका छन् । थापा हाल पारिवारिक कारणले बिदामा बसेको बुझिएको छ।

स्रोतका अनुसार चरम राजनीतिक हस्तक्षपका कारण आफूले काम गर्न नसेको बताउँदै राजिनामा दिएका हुन् । थापालाई महाप्रबन्धक बनाउन जो जो लागेका थिए, उनीहरुनै कन्भिन्स्ड नभएसँगै थापाको राजीनामा आएको समेत बुझिएको छ । 

सन् २०१४ नोभेम्बरमा कार्यक्रम अधिकृतको रुपमा महासंघ प्रवेश गरेका थापा २०७८ साल फागुन १ गते आइतबारबाट नायव महाप्रबन्धकको पदभार ग्रहण गरेका थिए । थापाको राजीनामा स्वीकृत भएसँगै अब महासंघको उच्च व्यवस्थापन नेतृत्वविहीन बनेको छ । यसअघि, जेठ १३ गतेमात्रै नायब महाप्रबन्धक बाबुल खनाल महासंघबाट बाहिरिएका थिए । महासंघमा अब दुई नायब महाप्रबन्धक पद रिक्त भएको छ ।
साउन १ गतेबाट महाप्रबन्धक पद पनि रिक्त हुँदैछ । बरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका गोपीकृष्ण भण्डारी निमित्तको भूमिकामा छन् ।

आइतबार बसेको महासंघ सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गरे पनि नयाँ महाप्रबन्धक नियुक्तीको विषयमा कुनै पनि निर्णय गरेको छैन । हाल निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका भण्डारीनै साउन १ गतेबाट कायम मुकायम महाप्रबन्धक हुनेछन् ।

Advertisment