विदेशी मुद्रा सटहीका लागि कागजात पेश गर्न निर्जीवन बीमकलाई निर्देशन

विदेशी मुद्रा सटहीका लागि कागजात पेश गर्न निर्जीवन बीमकलाई निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ ।

Sponsored Advertisement

फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेश गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ ।

यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने र पुनर्बीमा वापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्ने र विदेशी मुद्रा सटहीका लागि पेश गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

थप समाचार